सल्यानमा कक्षा छोड्ने विद्यार्थीको संख्यामा वृद्धि

“मूख्य कारण आर्थिक अबस्था कमजोर”
बुद्धि पुन, सल्यान १८ सल्यान ।
सल्यान जिल्लामा बिद्यालय बाहिर रहेका बालबालिकाहरुलाई बिद्यालयको पहँच सम्ममा ल्याउन बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरु सक्रिय रहेका छन् । उनीहरुले बिद्यार्थी भर्नाको समयमा बिभिन्न जनचेतनामुलक कार्यक्रम सँगै बिद्यालयको पहुँच बाहिर रहेका बालबालिकाहरुलाई बिद्यालय सम्म ल्याउने काम सक्रिय रहेर काम गर्ने गर्दछन् ।

तर बिद्यालयमा ती बालबालिकाहरुलाई भर्ना गरी सके पछि उचित जनचेतनामुलक कार्यक्रमको अभाब तथा पढ्नको लागी कापी, कलम, ड्रेस आदीको अभाब हुदाँ बिद्यालय छोड्ने बालबालिकाहरुको संख्या बढ्दै गएको छ । सानो उमेरमा नै घरायसी काममा लागेका, अन्य उद्योग धन्दामा लागेर श्रम बेचेर जिबन बिताई रहेका ती बालबालिकाहरुलाई बिद्यालयमा भर्ना गर्दा केही समय पछि फेरी बिद्यालय छोड्ने गरेको पाईएको हो ।
आर्थिक अभाबका कारण आफुहरुले बिद्यालय छोड्नु परेको ती बालबालिकाहरुको भनाई रहेको छ । बिद्यालय छोड्ने धेरै बालबालिका आर्थिक अबस्था कमजोर, आमाबुबा नभएका रहेका छन् । उनीहरुले पढ्ने उमेरमा पनि आफ्नो श्रम बेचेर ज्यान पाल्न बाध्य भएका छन् ।
जिल्लाको पश्चिमी क्षेत्रमा बिद्यालय छोड्ने बालबालिकाहरुको संख्या झन बढ्दै गएका छन् । यहाँको बन्गाड कुपिण्डे नगरपालीकामा रहेका बिभिन्न विद्यालयमा पढाई छोड्ने विद्यार्थीहरुको सख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ ।

शैक्षिक सत्र २०७३ सालको भर्ना अभिलेख अनुसार वार्षिक परिक्षा दिने विद्यार्थीको संख्या निक्कै कम देखिएको छ । भर्ना समयमा धेरै बालबालिका भर्ना भए पनि वार्षिक परिक्षा दिने समयसम्म आईपुग्दा बालबालिकाको संख्यामा कमी आउने गरेको छ । मुक्ति माद्यामिक बिद्यालय बन्गाड कुपिण्डे नगरपालीकाको हिलेपोखरीमा मात्रै यस शैक्षिक सत्रमा ७० जना विद्यार्थीले पढाई छोडेको बिद्यालयका प्रधानाध्यापक नोखराज विएमले वताउनु भयो । उहाँले आर्थिक अभाबका कारण केटाहरु रोजगारीको लागी भारत जाने गरेको बताउनु भयो । यस्तै केटिहरु विबाह गरेर जाने भएका कारण वार्षिक परिक्षा दिने समय सम्म भर्ना भएका सवै विद्यार्थीहरुले नपढ्ने गरेको उहाँले वताउनुभयो ।

यस्तै कृष्ण माद्यामिक विद्यालय लेखसँग्रहिमा पनि भर्ना भएका मध्ये ६५ जनाले पढाई छाडेको विद्यालयका लेखापाल कमल खड्काले वताउनु भयो । त्यस बिद्यालयमा विशेष गरी कक्षा ९ मा पढ्ने धेरैले पढाई छोड्ने गरेको उहाँले बताउनु भयो ।
यस्तै त्रिभुवन जनता माद्यामिक विद्यालय शंखपिपल च्युरामा गत शैक्षिक सत्रमा कक्षा ९ मा १ सय ३४ जना विद्यार्थी भर्ना भए । तर वार्षिक परिक्षा सबै विद्यार्थीले दिएनन् । जहाँ १९ जना विद्यार्थीले कक्षा छोडेको देखिन्छ । सो विद्यालयमा कक्षा १ देखि १० सम्म पढाई छोड्नेको संख्या ५२ रहेको छ ।
यस्तै देवस्थलमा रहेको प्रभाकर माद्यामिक विद्यालयमा पनि कक्षा छोड्नेको संख्याको उल्लेख्य रहेको सहायक प्रधानाध्यापक पुशकर विसीले वताउनु भयो । माद्यामिक बिद्यालय मात्रै नभई अन्य निम्न माद्यामिक बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले समेत कक्षा छोड्ने गरेको पाईन्छ । आर्थिक अभाब लगाएतका कारणले बिद्यालय छोड्ने विद्यार्थीको संख्यामा क्रमिक वृद्धि भएको वि.सीको भनाई रहेको छ ।
सानो उमेरमा विबाह गर्नु तर विबाह गरि सके पछि पनि घरपरिवारले पढ्न नदिनुले धेरै केटा केटीहरुले पढाई छाडेको पाईएको छ ।

यता भर्नादर भन्दा परिक्षा दिने समय सम्म विद्यार्थी कम हुनुमा अभिभावक दोषि रहेको बिद्यालय स्रोतले आरोप लगाउने गरेको छ । पढ्दापढ्दै छोरीहरुलाई विवाह गरीदिनु र छोराहरुलाई पैसाको लोभले मजदुरीको लागि भारत तीर पठाई दिनाले यो समस्या आएको विद्यालय स्रोत जनाएका छन् ।

प्रकाशित मिति : २०७४ जेष्ठ १८ गते बिहिवार
प्रतिक्रिया