नेकपाको स्थायी कमिटिको बैठक असार २४ गते सम्मका लागी स्थगित

काठमाडौ, २२ असार ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शीर्ष नेताबीच विवाद कायम रहेका बेला पाटीका दोस्रो तहका नेताले सहमतिको लागि सक्रियता देखाएका छन् । सहमतिकै प्रयास जुटाउन सोमवारका लागि तोकिएको स्थायी कमिटी बैठक यही असार २४ गतेसम्मका लागि स्थगन भएको छ भने विवाद मिलाउन अनौपचारिक गृहकार्य जारी छ । आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पाटीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुँदा दोस्रो तहका चार नेतालाई सहमतिको खाका बनाउन औपचारिक रुपमा जिम्मेवारी दिइएको थियो । कार्यदलले परामर्श र खाका निर्माणको काम गरिरहेको छ ।
नेकपाका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले सोमवारका लागि तय भएको बैठक स्थगित भएको जानकारी दिए । कार्यदलमा महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुन रहेका छन् । सहमतिका लागि प्रस्तावित भनी बाहिर आएको पाँच बुँदे खाकाका बारेमा अध्यक्ष दाहालको सचिवालयले खण्डन गरी पार्टी एकता नभड्काउन आग्रह गरेको छ ।
सहमतिका लागि पार्टी एकता हुनुअघि २०७५ मा भएको समानता, आवश्यकता र सहमतिका आधारमा पालैपालो नेतृत्व गर्ने भन्ने सहमति र २०७६ मङ्सिर ४ को स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई सरकार र अध्यक्ष दाहाललाई पार्टी अध्यक्षको कार्यकारी काममा सक्रिय रहने कार्यविभाजको निर्णयको समीक्षासहित नयाँ बिन्दु खोजी भइरहेको छ ।

प्रकाशित मिति : २०७७ असार २२ गते सोमवार
प्रतिक्रिया