सुभाष साह
काठमाडौं । सत्तारूढ दल नेकपामा कलह र संकट चुलिँदै जान थालेपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संकट समाधानका लागि पहल थालेका छन् । जारी स्थायी समितिमा बोल्ने सदस्यले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि अप्ठ्यारोमा परेका ओलीले आन्तरिक छलफललाई तीव्र पारेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार ओलीले स्थायी कमिटी सदस्य रहेका मन्त्री र आफू निकटका केही नेतासँग छलफल गरी राजनीतिक संकट समाधानका उपायको खोजी गरेका हुन् । छलफलमा प्रधानमन्त्री ओलीले अध्यक्षको अपमान गरेर पाटीमा गलत परिपाटी विकास गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरे । उनले यस्ता खालका परिपाटीको अन्त्य गर्न सबैको सहयोग आवश्यक पर्ने बताए ।
संकट समाधान गर्न प्रधानमन्त्रीले थाल्नुभएको पहलकदमीले परिस्थिति सकारात्मक दिशातर्फ बदलिने आशामा छौं । अब सबै प्रकारका ‘ब्लेम गेम र प्रोक्सी वार’ रोकिनुपर्छ ।
योगेश भट्टराई, स्थायी कमिटी सदस्य एवं पर्यटनमन्त्री
प्रधानमन्त्री ओलीले सबै पक्षसँग सघन छलफल गरी संकट समाधान गर्न प्रयासरत रहने बताए । प्रधानमन्त्री लचिलो हुँदै प्रस्तुत भएपछि सहभागी नेताहरू पनि आशावादी देखिएका छन् । छलफलमा सहभागी स्थायी कमिटी सदस्य एवं पर्यटन मन्त्री योगेश भट्टराईले संकट समाधान गर्न प्रधानमन्त्रीले थाल्नुभएको पहलकदमीले परिस्थिति सकारात्मक दिशातर्फ बदलिने आशामा आपूmहरू रहेको बताए ।
‘पार्टीमा परेको संकट समाधानका लागि सबैभन्दा ठूलो जिम्मेवारी दुवै अध्यक्षको हो त्यसैले उहाँहरूबीचको अविश्वास हट्नुपर्छ भन्ने हाम्रो सुझाव हो,’ भट्टराइले भने । भट्टराइले अहिले चलिरहेको ‘ब्लेम गेम र प्रोक्सी वार’ रोक्नुपर्नेमा जोड दिए । ‘घटनाक्रम हेदा पार्टीको उच्च नेतृत्व तहमा विश्वासको चरम संकट उत्पन्न भएको देखिन्छ,’ भट्टराईले भने, ‘यसको समाधान पनि उहाँहरूले नै आपसी संवाद गरेर खोज्नुपर्छ, अन्त्यत्र खोज्न सकिँदैन भन्ने हाम्रो निष्कर्ष हो ।’
पार्टीमा दुई अध्यक्षबीच हार्दिक सम्बन्ध हुनुपर्ने बताउँदै उनले पार्टीको सचिवालयका सदस्यहरूबीच, स्थायी कमिटी र सिंगो केन्द्रीय कमिटी तथा पार्टी पंक्तिमा हार्दिकता विकास हुनुपर्ने बताए । बढी जिम्मेवारीका हिसाबले पार्टी अध्यक्ष र प्रधानमन्त्रीले नै पहल गर्नुपर्ने सुझाव भट्टराईले प्रम ओलीलाई दिए ।
पार्टी पद्धतिमा सबै जना चल्ने हो भने सबैले सबैलाई इज्जत गर्ने वातावरण स्वतः बन्नेछ । नहडबढाई एकताबद्ध भएर संकटको सामना गरिनेछ ।
घनश्याम भुसाल, स्थायी कमिटी सदस्य तथा कृषिमन्त्री
छलफलमा सहभागी स्थायी कमिटी सदस्य तथा कृषीमन्त्री घनश्याम भुसालले पार्टीको निर्णय स्वीकार गर्दै अगाडि बढेमा प्रधानमन्त्रीलाई कुनै समस्या नपर्ने बताए । ‘पार्टी पद्धतिमा सबै जना चल्ने हो भने सबैले सबैलाई इज्जत गर्ने वातावरण स्वतः बन्नेछ,’ भुसालको सुझाव थियो ।
‘पार्टीकै कारण सत्ता र शक्ति प्राप्त गर्नुभएको छ, म नै सर्वोपरि हुँ भन्ने नसोची पार्टीलाई सबै कुरा समर्पण गर्छु भनेर अघि बढ्नुस्,’ भुसालले भने, ‘पार्टीको निर्णय कार्यान्वयन गर्छु भनेर अघि बढ्नुस्, पार्टीले सबैको मानमनितो राख्छ ।’
प्रधानमन्त्री ओलीको कुरा सुनेपछि सहभागी नेताहरूले अप्ठेरो परेको खण्डमा आफूहरू मन्त्री पदबाट राजीनामा दिन तयार रहेको भुसालले बताए । तर, पार्टीको निर्णय सबैले स्वीकार गर्नैपर्ने बताउँदै उनले फराकिलो सोच राखेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
कसैले नेकपा फुट्छ वा सरकार परिवर्तन हुन्छ भन्ने सपना देखेको छ भने त्यो गलत साबित हुनेछ ।
सत्यनारायण मण्डल, स्थायी कमिटी सदस्य
भुसाल, भट्टराईसहित छलफलमा सुवावचन्द्र नेम्वाङ, मणि थापा, लेखराज भट्टलगायतका नेताहरू सहभागी थिए । पार्टी शीर्ष नेताहरूबीच सहकार्यका लागि आवश्यक छलफल र संवाद आवश्यक रहेको उनीहरूले बताए । नेकपाका अर्का स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले पार्टीलाई दुर्घटनाबाट बचाउन सबै शीर्ष नेताहरू सच्चिनुपर्ने बताए । ‘अझै धेरै स्थायी कमिटी सदस्यहरू बोल्न बाँकी छ, पहिला बोलेका सदस्यको धारणा सुनेर पार्टी संकटमा छ भन्ने कसैले पनि बुझ्नुहुँदैन,’ मण्डलले भने ।
उनले पार्टी एकता कमजोर हुन नदिने स्पष्ट पारे । कसैले नेकपा फुट्छ वा सरकार परिवर्तन हुन्छ भन्ने सपना देखेको छ भने त्यो गलत साबित हुने मण्डलको भनाइ छ ।
बैठक जारी, राजीनामा माग
यसैबीच बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकमा समेत प्रधानमन्त्री ओलीको राजीनामाको विषय उठाइएको छ । स्थायी कमिटीका सदस्य मातृका यादवले जनअपेक्षाअनुसार सरकार सञ्चालन नभएको आरोप लगाउँदै ओलीले राजीनामा दिनुपर्ने माग उठाए ।
‘प्रधानमन्त्री इतर समूहको कुरा सुन्न मन पराउनुहुन्न,’ यादवले भने, ‘मलाई मन्त्री पदबाट हटाइदिनुभयो तर सरकारको अलोकप्रियता देख्दा मलाई हटाएर राम्रै गर्नुभयो जस्तो लाग्छ ।’
बैठकमा बोल्ने पाँचमध्ये चार जना स्थायी कमिटी सदस्यले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेका छन् । तीन स्थायी कमिटी दुई आमन्त्रित स्थायी कमिटी गरी पाँच जनामध्ये मन्त्री योगेश भट्टराईले मात्रै प्रधानमन्त्रीको बचाउ गरेका छन् ।
स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले प्रधानमन्त्री र पार्टी अध्यक्ष जस्तो व्यक्तिले बोल्नै नहुने अभिव्यक्ति दिएको भन्दै आलोचना गर्दै राजीनामा दिन सुझाव दिए ।
‘पार्टीमा यस्तो समस्या आउनु वैचारिक सैद्धान्तिक संकटको उपज हो । पार्टीको अध्यक्ष र प्रधानमन्त्री जस्तो पदमा बसेको व्यक्तिले यस्तो भन्न सुहाउँदैन । तपाईं दुवै पदमा बस्न योग्य देखिनुभएन, मार्ग प्रशस्त गर्नुस्,’ पोखरेलले भने, ‘पार्टीको घोषणापत्र र संविधान समाजवाद उन्मुख उल्लेख छ । बजेट बनाउन नवउदारवादको प्रवर्धकलाई दिएपछि यस्तै हुन्छ ।’
आमन्त्रित स्थायी कमिटी सदस्य पेसल खतिवडाले प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिनु गलत भएको बताए ।
‘कम्युनिस्ट प्रधानमन्त्री र अध्यक्ष जस्तो व्यक्तिले यस्तो आक्षेप लगाउनु गम्भीर त्रुटि हो,’ खतिवडाले भने, ‘प्रधानमन्त्रीज्यूले यस्तो भन्नु पार्टी पद्धति र अनुशासनविपरीत हो । त्यो कुनै हालतमा माफ गर्न सकिँदैन ।’
यस्तै केन्द्रीय कमिटीको निर्णयअनुसार एक व्यक्ति एक पदको अवधारणा पार्टीले कार्यान्वयन गरेर जानुपर्ने खतिवडाले बताए । यस्तै, अर्का आमन्त्रित स्थायी कमिटी सदस्य एनके प्रसाईंले पार्टीमा प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर भएको भन्दै नैतिक रूपमा सोच्ने अवस्था आएको बताएका थिए ।
स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीमा विवाद बढ्दै जाँदा राम्रो संकेत नदेखिएको भन्दै पार्टीलाई विभाजनबाट जोगाउनुपर्ने बताए । कोरोना महामारीमा सरकारले साधन स्रोतले भ्यासम्म काम गरेर देखाएको भन्दै उनले प्रधानमन्त्रीको बचाउ गरेका छन् ।
‘कोरोना महामारीले मुलुक आक्रान्त छ । यो बेला सबै एकजुट हुनुपर्छ । विवाद बढाउँदै लैजाने होइन,’ भट्टराईले भने, ‘मैले के त्याग गर्नुपर्छ, गर्न तयार छु । तर, पार्टी फुटबाट बचाउनुप(यो । यो बेला दुवै अध्यक्षलगायत शीर्ष नेताज्यूले सोच्ने बेला आयो ।’ नेकपा स्थायी कमिटी बैठक आज बिहीबार पुनः बस्दै छ ।
मिलेर काम गर्नुस् : कमल थापा
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेकपा नेतृत्वलाई आपसमा मिलेर काम गर्न सुझाव दिएका छन् । अध्यक्ष थापाले पछिल्लो समय नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको भन्दै अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता नेपाललाई आपसमा मिलेर काम गर्न सुझाव दिएका हुन् ।
उनले कोरोना भाइरसको महामारीबीच देशको अर्थतन्त्र धरासायी बन्दै गएको र सीमा विवादका विषयमा एक ढिक्का हुनुपर्ने अवस्थामा सत्तारूढ दलकै नेताहरू आन्तरिक कलहमा रुमलिएको अध्यक्ष थापाको निष्कर्ष रहेको छ ।
‘कोरोना भाइरसको महामारी र अर्थतन्त्र धरासायी हुँदै गएको बेला सत्तारूढ दलकै नेता एकजुट हुनुपर्नेमा सत्तासंघर्षमा अलमलिनु दुर्भाग्यपूर्ण छ,’ थापाले भने, ‘नेपाली जनताले पाँच वर्षका लागि बहुमत दिएका छन्, आपसमा मिलेर काम गर्नुहोस् ।’


















