जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौ, २५ जेठ ।
समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् ।सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । तर नेतृत्वमा सहमति जुट्न नसक्दा यस अघि निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।

दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आइतबार पार्टी पदाधिकारीबारे सहमति जुटेपछि दल दर्ता गरिएको हो ।पार्टीले महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई अध्यक्ष रहने निर्णय गरेकोे स्रोतले जानकारी दिएको छ ।
यस्तै वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई पनि पदाधिकारी रहने छन् ।

बाँकी सबैको नाम मात्रै पठाइने भएको छ । गत बैशाख १० गते समाजवादी पार्टी (स.पा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीच भएको एकीकरण भएको थियो । राजनीतिक दल सम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपी संलग्न गरेर निर्वाचन आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २५ गते आइतवार
प्रतिक्रिया