काठमाडौं,२० बैशाख
चिनियाँ राजदूत हाउ याङ्छीले नेकपाका शीर्ष नेतासँग भेट गर्दै अहिलेको असहज परिस्थितिमा मिलेर अघि बढ्न आग्रह गरेकी छन् । सत्तारूढ नेकपाका शीर्ष नेताबीचको विवाद उत्कर्षमा पुगिरहेको अवस्थामा चिनियाँ राजदूत हाउ याङ्छीले सक्रियता देखाउँदै मेलमिलापको बाटोमा जान नेताहरूलाई सुझाएको भन्दै राजधानीले खबर लेखेको छ ।
राजदूत याङ्छीले शुक्रबार बिहान खुमलटार पुगेर नेकपा अध्यक्ष पुष्पकमल दाहाल र त्यसलगत्तै वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्रस्थित निवासमा भेट गरी छलफल गरेकी छन् । उनले नेकपामा देखिएको अहिलेको विवादलाई चीनले चासोका साथ हेरिरहेको उल्लेख गर्दै मिलेर अघि बढ्न नेताहरूलाई सुझाव दिएकी हुन् ।
नेकपाको सम्भावित विभाजन रोक्न र मिलेर जान चिनियाँ राजदूत हाउ याङ्छीले नेकपाका नेतालाई चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट सुझाव आएको भन्दै ध्यानाकृष्ट गराएकी छन् ।
नेकपा एक नेताका अनुसार राजदूत याङ्छीले अहिलेको अवस्थामा विवाद गरेर कोही कसैलाई फाइदा नपुग्ने र उल्टै नेकपालाई नै नोक्सानी हुने भएकाले मिलेर अघि बढ्नुको विकल्प नभएको सुझाव दिएकी छन् ।
दाहाल–नेपाललाई अहिलेको विवाद निरूपण गर्न पार्टी बैठकमा गम्भीर रूपमा छलफल गरेर अगाडि बढ््नुपर्ने र कम्युनिस्ट पार्टीलाई नोक्सान पुग्ने गरी नेतृत्व फेर्ने विषयमा लाग्दा संकट आउन सक्ने भन्दै गम्भीर हुन आग्रह गरेको बताइएको छ ।
स्रोतका अनुसार नेकपाको सम्भावित विभाजन रोक्न र मिलेर जान उनले नेकपाका नेतालाई चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट सुझाव आएको भन्दै ध्यानाकृष्ट गराएकी छन् ।
दुई दिनअघि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्रा्ष्ट्रिय विभागका प्रमुख सोङ ताओले नेपाललगायतका नेतासँग तीन घण्टा लामो भिडियो कन्फरेन्स गरेका थिए ।
राजदूत हाउ याङ्छीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी थिइन् । प्रधानमन्त्री ओलीसँगको भेटमा उनले सबै जनालाई मिलाएर अघि बढ्नुपर्नेमा जोड दिएकी थिइन् ।
एक सातापहिले चिनियाँ राष्ट्रपति सी चिनपिङले टेलिफोनमार्फत राष्ट्रपति भण्डारीसँग वार्ता गरी प्रधानमन्त्री ओलीको सुस्वास्थ्य र खुसीका लागि दिएको शुभकामनालाई ओली पक्षले वर्तमान राजनीतिक संकटमा चीनको ओलीलाई समर्थन रहेको अर्थका रूपमा प्रस्तुत गर्दै आएको छ ।
राष्ट्रपति सीको भण्डारीसँग फोन वार्तापछि राजदूत याङ्छीले भण्डारीसँग एक्लै भेट गरेकी थिइन् । राजदूत याङ्छीले बिहीबार राति प्रधानमन्त्री ओलीलाई भेटेको एक दिनपछि सत्तारूढ नेकपाका अन्य दुई शीर्ष नेतालाई शुक्रबार भेट गरेकी हुन् ।
नेकपा विवाद उस्तै
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा उत्पन्न विवाद झन् बल्झिँदै गइरहेको छ । शीर्ष नेताहरू आफ्नो अडानबाट पछि हट्ने संकेत नदेखिएपछि आज (शनिबार) बस्ने भनिएको बैठकमा समेत विवाद उही रूपमा बढ्न सक्ने देखिएको छ ।
प्रधानमन्त्री एवं अध्यक्ष पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग पार्टी शीर्ष नेताले उठाउँदै आएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाललगायतका शीर्ष नेताहरू ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट पहिला राजीनामा दिनुपर्ने अडानमै छन् ।
गत सचिवालय बैठकमा ओलीले गौतमलाई प्रधानमन्त्री र नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेपछि शुक्रबार दाहाल, नेपालसहितका नेताले छलफल गरेका छन् । कोटेश्वरस्थित नेपाल निवासमा भएको छलफलमा दाहाल–नेपाल समूहले ओलीको प्रस्ताव अस्वीकार गर्दै पहिला राजीनामा दिनुपर्ने अडानमै सहमत भएको एक नेताले बताए ।
ओली निकट नेकपा स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा नदिने बताए । अहिले तत्काल राजीनामा दिने कुनै सम्भावना नरहेको बताउँदै जनमतको अपमान कुनै नेताले गर्न नहुने बताए ।
‘अहिले नै राजीनामा दिने कुरा गर्नु भनेको जनमतको अपमान गर्नु हो । त्यस्तो काम कुनै नेताले गर्न नहुनेमा म बिश्वस्त छु,’ थापाले भने, ‘कसैले भन्दैमा प्रधानमन्त्रीज्यूले राजीनामा दिनैपर्छ भन्ने छैन ।’ नेकपाका अर्का नेता रघुजी पन्तले प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिएर निकास खोल्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले शनिबार हुने सचिवालय बैठक अघि शुक्रबार दाहाल र नेपालसँग छुट्टाछुट्टै छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टाछुट्टै छलफल गरेका ओलीले आफूले गरेको प्रस्तावबारे दाहाल–नेपालसँग कुरासमेत बुझ्न खोजेको र दुवै नेताले उक्त प्रस्ताव स्वीकार नभएको जवाफ दिएको एक नेताले बताए ।


















