इटलीमा कोरोना भाइरस संक्रमित नर्सले गरिन आत्महत्या

एजेन्सी, १३ चैत्र

इटलीमा एक नर्सले कोरोना भाइरस संक्रमित भएपछि आत्महत्या गरेकी छन् । कोरोना भाइरस संक्रमितको उपचारमा दिनरात खटिँदै आएकी ३४ वर्षीया ड्यानिएल ट्रेज्जीले आत्महत्या गरेकी हुन् ।

उनी इटालीमा कोरोना भाइरस संक्रमण सुरु भएदेखि नै संक्रमितको उपचारमा खटिँदै आएकी थिइन् । उनले इटालीको लोम्बार्डी क्षेत्रमा सयौं संक्रमितको उपचार गरिन् । लोम्बार्डी इटालीमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो ।

उनी मोन्जास्थित सान गेरार्डो अस्पतालको आईसीयूमा खटिँदै आएकी थिइन् ।

उनले आत्महत्या गर्नुअघि सुसाइड नोट लेख्दै भनेकी छन्, ‘कोरोना संक्रमितको उपचार गर्दागर्दै म आफैँ संक्रमित भएँ । अब अरु मानिसलाई संक्रमित गर्ने बोझ सहन सक्ने क्षमता मभित्र छैन । त्यसैले अरु धेरैको जीवन बचाउन आफ्नै जीवन अन्त्य गर्ने निर्णय लिएकी छु।’

इटालीमा नर्सहरूको महासंघले उनको आत्महत्याको खबरले सबै चिकित्सक र सिंगो मुलुक स्तब्ध भएको बताएको छ । कोरोना भाइरस परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि अन्यमा पनि संक्रमण सर्न सक्ने भयका कारण उनी तनावमा थिइन् ।

इटालीमा कोरोना भाइरसको उपचारमा खटिएका करिब ५ हजार स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भएका छन् । इटाली युरोपमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भएको देश हो । जहाँ झण्डै ७५ हजार कोरोना संक्रमित भइसकेका छन् भने ७ हजार ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

 

 

 

प्रकाशित मिति : २०७६ चैत्र १३ गते बिहिवार
प्रतिक्रिया