२०८३ बैशाख १२ गते शनिवार

उपेन्द्र यादव र इस्तियाकद्धारा मन्त्रीबाट राजीनामा

काठमाडौ, ८ पौष ।
समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ । उपप्रधान तथा कानून मन्त्री उपेन्द्र यादवले मंगलवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाउनुभयो । समाजवादी पार्टीबाटै शहरी विकास मन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि आजै राजीनामा दिनुभएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकमा यादवले संविधान संशोधनको विषयमा प्रस्ताव राख्न खोज्नुभएको थियो । तर प्रधानमन्त्रीले त्यो प्रस्ताव अस्वीकार गरिदिनुभयो । वर्तमान सरकार संविधान संशोधनका लागि तयार नभएको भन्दै उपप्रधानमन्त्री यादवले राजीनामा दिनुभएको हो । २०७५ जेठमा तत्कालीन संघीय समाजवादी फोरम पार्टी सरकारमा सहभागी भएको थियो ।
सरकारमा सहभागी हुने बेलामा नेकपा र फोरमबीचमा दुई बुँदे सहमति भएको थियो । दुई बुँदे सहमतिको पहिलो बुँदामा आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने उल्लेख थियो भने दोस्रो बुँदामा फोरम सरकारमा सहभागी हुने उल्लेख थियो । विगतमा भएको सहमतिकै आधारमा आफूले प्रस्ताव लगेको यादवको भनाई छ । मन्त्रिपरिषद् पुनर्गठन भएपछि प्रधानमन्त्रीले यादवलाई गत मंसिर ४ गते कानुन मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो । कानुनमा सरुवा भएसँगै पार्टीभित्र पनि यादवलाई सरकारबाट हट्न सुझाव दिइएको थियो । यद्यपी समाजवादी पार्टीको मंसिर ७ मा बसेको पदाधिकारी बैठकले संविधान संशोधनका लागि पहल गर्ने र त्यसपछि प्रक्रिया अघि नबढेमा सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७६ पुष ८ गते मङ्गलवार
प्रतिक्रिया