पत्रकार हत्याकाण्डमा पाँच जनालाई मृत्युदण्ड सजाय

एजेन्सी

रियाद । साउदी अरबको एउटा अदालतले पत्रकार जमाल खाशोज्जी हत्याकाण्डमा संलग्न रहेको आरोपमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । सोमबार साउद अरबको सरकारी अभियोजक शलान अल शलानले दिएको जानकारी अनुसार घटनामा पाँचजनालाई मृत्युदण्डको सजाय दिइएको छ, जो हत्याकाण्डमा प्रत्यक्ष संलग्न छन् । साथै तीनजनालाई कूल मिलाएर २४ वर्षको जेल सजाय तोकिएको छ ।

उनका अनुसार यो घटनामा साउदी युवराज मोहम्मद बिन सलमानका सल्लाहकार सउद अल खतानीसँग पनि सोधपुछ गरिएको थियो । तर उनीमाथि कुनै आरोप लगाइएको छैन । पत्रकार खाशोज्जी अन्तिम पटक २ अक्टुबर २०१८ मा टर्कीको इस्तनबुलस्थित साउदी वाणिज्य दूतावासको बाहिर देखिएको थियो । साउदी दूतावासले नै पत्रकार खाशोज्जीको हत्या गरेको आरोप टर्कीले साउदीमाथि लगाएको थियो । उसको लाश अहिलेसम्म प्राप्त भएको छैन । टर्कीको आरोप थियो, साउदी राजपरिवारको आदेशमा नै खाशोज्जीको हत्या भएको हो । तर यो आरोपको साउदीले खण्डन गर्दै आएको थियो ।

 

प्रकाशित मिति : २०७६ पुष ७ गते सोमवार
प्रतिक्रिया