मधेश अलग हुन सक्छ : महन्त ठाकुर

सुजीतकुमार झा

जनकपुरधाम । सरकारले देसैभरि विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइरहँदा जनकपुरधाममा मधेसी नेताहरू भने संविधानविरुद्ध नै गर्जिएका छन् । जनकपुरधाममा एक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा मधेसी नेताहरूले संविधानविरुद्ध खुलेरै आवाज उठाएका हुन् ।

शुक्रबार जनकपुरधाममा आयोजित नेपालको संविधान २०७२ मा जनताको अवधारणा राष्ट्रिय बहस र मन्थन विषयक दुई दिवसीय कार्यक्रमलाई सम्बोधन गर्दै  राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुरले संविधानलाई समयमै संशोधन नगरेमा केन्द्रिय सरकारले ठुलै मूल्य चुकाउने पर्ने चेतावनी दिए ।

राजपा नेपालका पूर्व संयोजक तथा संघीय प्रतिनिधीसभाका सदस्य महन्थ ठाकुरले राज्यले अब पनि संविधान संशोधन नगरे मधेश अलग देशको रुपमा विकसित हुन सक्ने चेतावनी दिए ।

मधेशको हक अधिकारको लागि लामो संघर्ष गर्दा पनि राज्यले बेवास्ता गर्दै आएकाले सरकारलाई सचेत र गम्भिर हुन आग्रह गरे । नेता ठाकुरले मधेशी, थारु, आदिवासी जनजातिको अधिकार अझै पनि खोसिएकै अवस्थामा रहेकाले आफूहरुसंग गरेको वाचा तत्काल पूरा गर्न सरकारलाई आग्रह गरे । उनले भने ‘ अहिलेको संविधान हाम्रो होइन, यस्तै रहे हामी मधेशलाई अलग देश पनि बनाउन सक्छौँ ।’

कार्यक्रममा सानो पाइला नामक गैरसरकारी संस्थाले मधेश आन्दोलनमा सहादत दिएकाहरुको परिवारजनलाई प्रमुख अतिथि बनाएको थियो । कार्यक्रम सुरु हुनुपूर्व पहिलो दिन मधेश आन्दोलनका फोटोहरु, भिडियो प्रदर्शनी, शहीद परिवारजन र घाइतेहरुलाई सम्मान गरेको थियो ।

प्रकाशित मिति : २०७६ असोज ३ गते शुक्रवार
प्रतिक्रिया