संरचनाको विषयमा बखेडा झिकेर महाधिवेशनलाई नै झन् अन्योलमा पार्ने र अनिश्चिततातर्फ लैजाने खतरा बढ्यो, पार्टीलाई झन् खतरामा लैजाने संकेत देखा प¥यो । रामचन्द्र पौडेल वरिष्ठ नेता, कांग्रेससंस्थापन समूहका केही शीर्ष नेताहरूले भने कुनै हालतमा सहमतिबाटै रिक्त संरचनाको गठन गर्ने अडानबाट सभापतिलाई ब्याक नहुन दबाब दिँदै आएका छन् । तर, इतर पक्षका नेताले भने संरचनाको विषयमा भएको अलमलका कारण जारी बैठकमा महाधिवेशनको मिति तोक्नसमेत नेतृत्वलाई दबाब दिँदै आएका छन् । कांग्रेस विधान अनुसार आगामी फागुनबाट वर्तमान केन्द्रीय कार्यसमितिको म्याद सकिँदै छ । सो समयअघि नै कांग्रेसले आफ्ना सबै रिक्त संरचनाको गठन गरेर पार्टीको १४ महाधिवेशनका लागि वातावरण बनाउनुपर्ने अवस्था छ । कांग्रेसको गत ८ पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकले बनाएको नयाँ विधानअनुसार पार्टीको संरचना केन्द्रदेखि टोलसम्म गरी आठ तहको हुने व्यवस्था गरेको छ । जसअनुसार टोल, वडा, गाउँ र नगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी आठ तहका संरचनाको व्यवस्था छ । तर, हालसम्म केन्द्र र जिल्लाबाहेक तल्लो तहमा पार्टीका संरचना रित्तोजस्तै अवस्थामा छन् । कांग्रेसले आगामी फागुनसम्म सात प्रदेश, नयाँ गठन भएका दुई जिल्ला रुकुम र पूर्वी नवलपरासी, १६५ संघीय र ३३० प्रदेश निर्वाचन कार्यसमिति, ७५३ पालिका र ६ हजार ७४३ वडाको अन्तरिम संरचना गठन गर्ने लक्ष्य राखेको छ । गत निर्वाचनपूर्व कायम रहेका २४० निर्वाचन क्षेत्र हेरफेर भएपछि कांग्रेसलाई संरचनाको विषयले सकसमा पारिरहेको हो । इतर समूहको छुट्टै बैठक केन्द्रीय समिति बैठकमा रिक्त संरचनाको विषयको विवाद बढेपछि कांग्रेसभित्र दुई समूह रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहको छुट्टै बैठक बसेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित निवासमा मंगलबार बिहान इतर पक्षका नेताहरूको बैठक बसेको थियो । बैठकमा संरचनाको विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको बताइएको छ । छलफलपछि संस्थापन पक्षलाई विधि र प्रक्रियाबाट नै पार्टीका रिक्त सबै संरचनाको गठनका लागि दबाब दिने निष्कर्ष निकालिएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले जानकारी दिए । यसैगरी संरचना गठनका विषयमा संस्थापन पक्षले ढिलाइ गर्ने हो भने महाधिवेशनको मिति तोक्नसमेत दबाब सिर्जना गर्ने उनीहरूले निर्णय गरेको बुझिएको छ । जारी केन्द्रीय समिति बैठकमा समेत उनीहरूले महाधिवेशनको क्यालेन्डर ल्याउन भन्दै संस्थापन पक्षलाई दबाब दिँदै आएका छन् । बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेताहरू कृष्णप्राद सिटौला, डा. मिनेन्द्र रिजालसहितका नेता सहभागी थिए ।
प्रकाशित मिति : २०७६ साउन १५ गते बुधवार



टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।