सुभाष साह
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्कुल विभागमा आकांक्षीसँग विवाद चर्किंदै गएको छ । विवादकै कारण पटकपटक बोलाइएको सचिवालय बैठक स्थगित भइरहेको छ । स्कुल विभाग प्रमुखका लागि पार्टी सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले दाबी गरिरहेका छन् । श्रेष्ठ र पोखरेलबीच प्रतिस्पर्धा भइरहेकै बेला पार्टी वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल र डा. वेदुराम भुसाल पनि स्कुल विभाग प्रमुखका आकांक्षी भएका छन् ।
पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वरिष्ठ नेता खनाललाई स्कुल विभागको प्रमुख बन्न प्रस्ताव गरेको नेकपा स्रोतले जनाएको छ । तर, खनालले आफूलाई प्रमुख बन्न प्रस्ताव नआएको बताएका छन् । ‘मलाई स्कुल विभागको प्रमुख बन्न प्रस्ताव आएको छैन तर सर्वसम्मत आए म जस्तोसुकै जिम्मेवारी निर्वाह गर्न तयार छु’ खनालले भने, ‘पार्टी र देशकै प्रमुख भएर जिम्मेवारी निर्वाह गरिसकेकाले स्कुल विभागको जिम्मेवारी निर्वाह गर्न नसक्ने होइन् तर निर्णय सर्वसम्मत हुनुपर्छ ।’ यसअघि खनाललाई नीति तथा अनुसन्धान प्रमुख बनाउने सहमति भइसकेको थियो । तर, दुई नेताको अडानकै कारण वैकल्पिक उपायका रूपमा खनाललाई यस्तो प्रस्ताव गरिएको नेकपा नेताको दाबी छ ।
उता स्थायी कमिटीका सदस्य घनश्याम भुसालले पार्टीका शीर्ष नेतालाई भेटेरै स्कुल विभागको प्रमुखको जिम्मेवारी आफूलाई दिनुपर्ने दाबी गरेका छन् । यसअघि पनि तत्कालीन एमालेको स्कुल विभागको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेको दाबी भुसालको छ । तत्कालीन एमालेको ९औं महाधिवेशनमा भुसालको व्याख्याअनुसार नेपाली समाजको चरित्र अर्धसामन्ती र अर्धऔपनिवेशिकबाट बदलिएर पुँजीवादमा प्रवेश गरिसकेको राजनीतिक दस्तावेज पारित भएको थियो । उनकै व्याख्याअनुसार एमालेले नेपाली समाजको चरित्र दलाल पुँजीवादी रहेको विश्लेषण गर्दै आएको छ ।
यसैगरी अर्का आकांक्षी डा. वेदुराम भुसालले पनि तत्कालीन एमालेको स्कुल विभाग प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेका छन् । जनताको बहुदलीय जनवाद (जबज) मा पीएचडीसमेत गरिसकेका भुसालले अनुभव र रुचिका हिसाबले स्कुल विभागको प्रमुख आफूलाई दिनुपर्ने दाबी गरेका छन् ।
पार्टीमा स्कुल विभाग प्रमुखमा विवाद बढ्दै गएपछि उम्मेदवारी पनि बढदै गइरहेको छ । त्यसैले पार्टीलाई टुंगो लगाउनसमेत सकस परेको छ । विवाद समाधान हुन नसक्दा पटकपटक बोलाइएको सचिवालय बैठक स्थगित भइरहेको छ ।
गत साता बसेको सचिवालय बैठकमा विवाद भएपछि जिल्लाको इन्चार्ज, सहइन्चार्ज टुंगो लगाउँदै ७ साउनमा सचिवालय बैठक डाकिएको थियो । यसैबीच समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष दाहालबीच छलफल भयो । तर, छलफलले समाधानको उपाय निकाल्न सकेन ।
अध्यक्षद्वयका बीचमै छलफल हुँदासमेत समाधान नभएपछि ७ साउनको सचिवालय बैठक स्थगित गर्दै ९ साउनमा पुनः बस्ने भनियो । तर, झन्झन् विवाद बढ्दै गएपछि अर्को सूचना नहुन्जेलसम्मका लागि नै बैठक स्थगित भएको छ । अनिश्चितकालका लागि बैठक स्थगित भएपछि झन् अन्योल बढेको छ ।
नेकपाका ३२ वटा विभागमा भागबन्डाको सहमति यसअघि नै भइसकेको छ । ३२ विभागमध्ये १८ वटामा तत्कालीन एमाले र १४ वटामा तत्कालीन माओवादीले प्रमुखको जिम्मेवारी लिने सहमति यसअघि नै भइसकेको छ । नेकपामा संगठन, अर्थ, विदेश, स्कुल, प्रचार, मोर्चालगायतका विभागलाई शक्तिशाली रूपमा लिने गरिन्छ । प्रत्येक विभाग ३५ सदस्यीय हुनेछ । जसमा तत्कालीन एमालेबाट २० र माओवादीबाट १५ जना सदस्य हुनेछन् ।
पूर्वएमालेका शीर्ष नेताको छुट्टै बैठक
यसैबीच स्कुल विभाग प्रमुखका लागि भइरहेको विवादको समाधानका लागि पूर्वएमालेका शीर्ष नेताको छुटै बैठक भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकमा नेकपा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, ईश्वर पोखरेल, महासचिव विष्णु पौडेलको सहभागिता थियो । तर, बैठकले कुनै सहमति गर्न सकेन । बैठकमा सहभागी वरिष्ठ नेता खनालले बैठक बसेको स्वीकार गर्दै कुनै निर्णय नभएको बताए


















