२०८३ बैशाख ११ गते शुक्रवार

स्कुल विभाग प्रमुखमा नेकपाकाे विवाद

सुभाष साह

सहमति जुटाउने प्रयास जारी 
 आज सचिवालय बैठक बस्दै

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्कुल विभागमा बिवाद देखिएको छ ।  पार्टीको वैचारिक एवं शक्तिशाली विभागका रूपमा रहेको स्कुल विभाग प्रमुखका लागि सचिवालय सदस्यद्वय नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले दाबेदारी गरेका छन् । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपालसहित शीर्षतहमै स्कुल विभाग तत्कालीन एमालेले लिने सहमति भएको थियो ।
एमालेको भागमा परेपछि सो विभागमा उपप्रधान एवं रक्षामन्त्रीसमेत रहेका पोखरेललाई नै प्रमुख बनाउने सहमतिसमेत भइसकेको थियो । तर, तत्कालीन माओवादी नेताले पोखरेललाई ‘स्कुल विभाग प्रमुखमा स्वीकार गर्न नसकिने’ बताएपछि विवाद देखिएको छ ।

सचिवालय सदस्य रहेका तत्कालीन एमालेका ६ नेताको छुट्टै बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा जिम्मेवारी बाँडफाँड विषयमा गम्भीर छलफल गर्दै स्कुल विभागमा पोखरेलाई ल्याउने सहमति भएको थियो । तर, पार्टी प्रवक्तासमेत रहेका नेता श्रेष्ठले आफ्नो दाबेदारी कायम नै राखेपछि विवाद भएको हो ।
‘जनताको बहुदलीय जनवाद’ (जबज) विषयमा खुलेर वकालत गरेका पोखरेललाई स्कुल विभाग प्रमुख बनाउन नहुने तर्क तत्कालीन माओवादी नेताको छ । पार्टी एकता गर्दा जनताको जनवादमा सहमति भइसके पनि पछिल्लो समय पोखरेलले ‘जबज’ विषयमा सर्वजनिक रूपमै वकालत गरेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकमा श्रेष्ठ र पोखरेलले स्कुल विभाग प्रमुख हुनुपर्ने दावी प्रस्तुत गरेको स्रोतको दाबी छ । दुबै नेताको अडानकै कारण सचिवालय बैठकले विभाग, आयोगलगायतका एकता कार्य टुंगो लगाउन नसकेको हो ।

जिल्ला इन्चार्ज र सहइन्चार्ज मात्रै टुंगो लगाउँदै पुनः आज मंगलबार बैठक बोलाइएको छ । तर, नेताबीच सहमति जुटाउन अझै गृहकार्य जारी रहेको
स्रोतले बतायो । नेकपाका ३२ विभागमा भागबण्डा सहमति यसअघि नै भइसकेको छ । ३२ विभागमध्ये तत्कालीन एमाले १८ र तत्कालीन माओवादीले १४ वटामा प्रमुखको जिम्मेवारी लिने सहमति भइसकेको छ ।
पार्टी प्रवक्ताका भूमिकामा रहेका श्रेष्ठलाई अध्यक्षद्वय ओली र दाहालले प्रचार विभाग प्रमुख बन्न आग्रह गरिसकेका छन् । तर, श्रेष्ठले ‘प्रचार विभाग नलिने’ अडान व्यक्त गर्दै ‘स्कुल विभाग प्रमुख बनाउनुपर्ने’ अडान लि“दै आएका छन् ।

प्रकाशित मिति : २०७६ साउन ७ गते मङ्गलवार
प्रतिक्रिया