सल्यानमा छोराछोरी स्कूल नपठाउने अविभावकलाई ‘रातोकार्ड’

बुद्धि पुन,सल्यान २९ चैत्र ।
सल्यानको दार्मा गाउँपालिका ५ गोठिवनका ३८ वर्षिय टेक बहादुर विकलाई छोरा गोविन्दले पढिरहेको गोठिवन माध्यमिक विद्यालयबाट रातो कार्ड आएपछि उनि अचम्ममा परे । विद्यालयबाट रातो कार्ड किन पाइयो भनेर थाहा नपाएका टेक बहादुर कक्षा ३ मा पढिरहेको छोरा गोविन्दले कार्डमा लेखेको सवै कुरा विस्तारै पढेर सुनाएपछि भने छाँगाबाट खसेजस्तै भए । विद्यालयले उनलाई छोरालाई नियमित किन नपठाएको भनेर रातो कार्ड मात्रै पठाएको थिएन उनको गम्भीर ध्यानाकर्षण समेत गराएको थियो ।

सामान्य तया फुटवलमा खेलाडिले ठुलो गल्ती गरेमा दिइने रातो कार्ड सल्यानका विद्यालयहरुले भने छोराछोरीलाई नियमित विद्यालय नपठाउने अविभावकहरुलाई दिन थालेका छन् । टेक बहादुरले भने–“पुस महिनामा रातो कार्ड पाउँदा नरमाइलो लाग्यो, त्यसपछि छोरालाई जस्तो काम परेपनि विद्यालय पठाएको छु ।” उनले माघ र फाल्गुनमा भने छोरालाई नियमित विद्यालय पठाएपछि हरियो कार्ड पाएको बताए । “हामीले विद्यालयमा छोराछोरी नपठाउने अविभावकहरुलाई तिन प्रकारको कार्ड दिन्छौँ”–अन्धनाशक आधारभुत विद्यालय ढाकाडामका प्रधानाध्यापक दिप बहादुर केसीले भने,–“८५ प्रतिशत भन्दा बढि हाजिर हुने विद्यार्थिका अविभावकलाई प्रशंसा पत्र भनेर हरियो कार्ड, ७० देखि ८५ प्रतिशत हाजिर हुने विद्यार्थिका अविभावकहरुलाई धन्यवाद ज्ञापन भनेर पहेलो कार्ड र ७० प्रतिशत भन्दा कम हाजिर हुने विद्यार्थिका अविभावकलाई ध्यानाकर्षण पत्र भनेर रातो कार्ड दिन्छौँ ।”

उनले महिनाको अन्तिम दिन सवै हाजिरी हिसाव गरेर मासिक रुपमा कार्ड दिइने बताए । सेभ द चिल्डे«ेन सँगको साझेदारीमा स्थानिय गैर सरकारी संस्था दलित विकास समाज सल्यानको सहयोगमा जिल्लाका ४५ विद्यालयले अहिले यो अभियान शुरु गरेका छन् । कुमाख मालिका गाउँपालिकाका ९ र दार्मा गाउपालिकाका ३६ विद्यालयले यस्तो अभियान शुरु गरेका हुन ।

प्रकाशित मिति : २०७३ चैत्र २९ गते मङ्गलवार
प्रतिक्रिया