विप्लव वार्तामा आए स्वागत, नआए ‘एक्सन’

महेश्वर गौतम

 काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको सरकारले वार्ताका लागि आए स्वागत गर्ने नआए एक्सनको नीति नछाड्ने बताएको छ । पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले सरकार लक्षित कार्यक्रम घोषणा गरेर प्रधानमन्त्रीदेखि मन्त्रीहरू सहभागी हुने कार्यक्रमलाई रोक लगाउने बताउँदै आएका बेला सरकारले भने हिंसाको बाटोबाट समस्याको समाधान ननिस्कने भन्दै वार्तामा आए स्वागत गर्ने नआए हिंसात्मक बाटोलाई छुट नदिने बताएको हो ।

सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हिंसाको बाटोबाट कुनै पनि निकास ननिस्कने भन्दै वार्तामा आए सरकार स्वागत गर्न तयार रहेको बताए ।

‘हिंसाको बाटोबाट कुनै निकास निस्किँदैन, वार्तामा आए सरकार स्वागत गर्छ, हिंसात्मक बाटो लागे छुट छैन,’ मन्त्री बाँस्कोटाले राजधानीसँग भने ।उनले हिंसाको बाटोमा लाग्नेहरूका लागि सरकारको नीति पहिले जे थियो त्यही रहने भन्दै वार्ता र सहमतिका लागि भने सरकारले स्वागत गर्ने जनाएका हुन् ।

सरकारले चन्द नेतृत्वको नेकपालाई गत २८ फागुनमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि नेकपाका नेता कार्यकर्ताहरू धमाधम पक्राउ पर्न थालेका छन् भने केही नेता कार्यकर्ताहरू पार्टी परित्याग गरी अर्को पार्टीमा प्रवेश गर्न थालेका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले सरकारले प्रतिबन्ध लगाएपछिको अवस्थामा नेकपाका नेता कार्यकर्तामाथि प्रहरीले कडा निगरानी राख्दै आएको जनाए । उनले विभिन्न जिल्लामा दर्ता भएका मुद्दा वा उजुरीका आधारमा समेत प्रहरीले नेकपाका नेता कार्यकर्तालाई पक्राउ गर्दै आएको जनाएका हुन् । प्रहरीले प्रतिबन्धयता शुक्रबारसम्म १८० जना नेकपाका नेता कार्यकर्तालाई पक्राउ गरेको समेत जानकारी दिए ।

पक्राउ परेकाहरूमाथि प्रहरीले धमाधम अनुसन्धानसमेत अघि बढाएको छ । अनुसन्धान क्रममा विभिन्न गतिविधिसहित राजनीतिक क्रियाकलापमा संलग्नता देखिएकाहरूलाई प्रहरीले मुद्दा चलाएरै कारबाही अघि बढाएको छ भने कुनै पनि गतिविधिमा संलग्न नदेखिएकालाई भने छाड्न थालेको छ । हालसम्म पक्राउ परेकामध्ये कुनै पनि गतिविधिमा संलग्न नरहेको देखिएपछि प्रहरीले दुई दर्जन बढीलाई छाडिसकेको छ ।
प्रहरीले सरकारको निर्देशनअनुसार नै चन्द नेतृत्वको नेकपाको गतिविधिलाई लक्षित गरेर देशभर उच्च निगरानीका साथ कार्य गरिरहेको जनाएको छ । प्रहरी प्रधान कार्यालयले विशेष टोली खटाएरै विप्लवका उच्च तहका नेतामाथि निगरानी गर्दै पक्राउसमेत गर्दै आएको छ ।

प्रहरीको अपरेसनका क्रममा हालसम्म उच्च तहका नेताहरू मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली, नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की, केन्द्रीय सदस्यहरू चूडामणि ओली, चन्द्रबहादुर खड्का, भेरी–कर्णाली इन्चार्ज धनराज शाही, जिल्ला मजदुर संगठन कालीकोट इन्चार्ज भरत शाही, रोल्पा जिल्ला सदस्य लालबहादुर ओलीलगायतका नेता कार्यकर्ता पक्राउ परेका छन्

प्रकाशित मिति : २०७६ बैशाख ८ गते आइतवार
प्रतिक्रिया