दाङ, १९ असोज । दाङको लमहीमा बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार दिउँसो करिब ३ः५० बजे लमही नगरपालिका–३ मझगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा भालुवाङबाट लमहीतर्फ आउँदै गरेको लु.प्र ०२–००१ ख ०११९ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको लु.प्र ०२–००१ ह १५७१ नम्बरको अटो एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा परी अटोमा सवार प्युठानको सरुमारानी गाउँपालिका ३ हंसपुर घर भई हाल वडा नम्वर ५ हात्तिखाल बस्ने २० बर्षिया संगिता सामैमगरकी दुई महिनाकी छोरी जेनिशा सोमै मगर र उहाका आमा ४५ वर्षीया नमिसरा बरालको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरु दुवै जनाको उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार दुर्घटनामा परी अटोमा सवार सरुमारानी गाउँपालिका ५ पाखापानीका ३३ वर्षीय जितबहादुर पल्लिमगर, सरुमारानी गाउँपालिका ३ हंसपुर घर भई हाल वडा नम्वर ५ हात्तिखाल बस्ने २० बर्षिया संगिता सामैमगर र नौबहिनी गाउँपालिका लबुलुङ निवासी २८ बर्षिय गोपाल अधिकारी घाईते भएका छन् । उनीहरु मध्ये संगिता सोमै मगरको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनीहरुको लमही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि बस तथा अटो र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।