दाङ , १७ असोज । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गको दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको प्रहरीले जनाएको छ । बाँकेको कोहलपुरबाट काठमाडौं तर्फ जादै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस आज बिहान पौने ४ बजे महेन्द्रराजमार्ग अन्तर्गत दाउन्नेमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले बताएको छ । उक्त बसमा चालक सहित १८ जना सवार रहेकोमा ६ जनाको मृत्यु भएको र १० जना घाइते भएका छन् भने २ जना सकुशल रहेका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्ला जाजरकोट, भेरीगंगा नगरपालिका –०३ बस्ने ५० वर्षीय निर्जुङ खत्री रहेका छन् भने अन्य पाँच जना मृतकको पहिचान हुन बाँकी रहेको छ ।
घाइते हुनेमा गोरखाका हरिशरण थापा, अछामका तेजेन्द्र प्रसाद भण्डारी, बर्दियाकी आकृति, बाजुराका पवन बुढा, बर्दियाका सञ्जय थारु, बाजुराका प्रेम बम, ललितपुरका अनोज खत्री, बर्दियाका लाल बहादुर कार्की, बाँकेका अस्लाम भगवान र सल्यानका अनिल बुढाथोकी रहेका छन् । उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा खटिएको प्रहरी टोलीले बसमा सवार घाइतेहरूलाई उद्दार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ ।दुर्घटनाको विस्तृत विवरण बाँकी रहेको प्रहरीले जानकाररुी दिएको छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।