सल्यान १० असोज । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सल्यानबाट ३५ वर्षमुनिका युवा नेता सन्जीव देवकोटाले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका देवकोटा सामाजिक तथा राजनीतिक गतिविधिमा समेत सक्रिय हुनुहुन्छ। सञ्चार क्षेत्रमार्फत समाजका विभिन्न मुद्दालाई निरन्तर उठाउँदै आएका देवकोटाले अब पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताउनुभएको छ।
नेपाली काँग्रेसमा पछिल्लो समय देखिएको पुस्तान्तरणको बहसलाई व्यवहारमै अघि बढाउनुपर्नेमा जोड दिँदै देवकोटाले बी.पी. को विचार, गगन थापाको नेतृत्व र नयाँ पुस्ताको सक्रिय सहभागितालाई आधार बनाएर पार्टीलाई थप सुदृढ र जनमुखी बनाउनुपर्ने धारणा राख्नुभएको छ।
“युवालाई केवल समर्थक र कार्यकर्ताका रूपमा मात्र होइन, पार्टीको नीति निर्माण र नेतृत्व तहमा समेत निर्णायक भूमिकामा पुर्याउनुपर्छ,” देवकोटाले भन्नुभएको छ। पत्रकारिताका क्रममा जनताका समस्या, स्थानीय विकास, सुशासन र सामाजिक सरोकारका विषयलाई नजिकबाट बुझ्ने अवसर प्राप्त भएको भन्दै देवकोटाले त्यस अनुभवलाई पार्टी संगठन र जनप्रतिनिधित्वको क्षेत्रमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सल्यानका वडा तथा क्षेत्रीय प्रतिनिधिहरूसँग भेटघाट र छलफललाई तीव्र बनाउँदै उहाँले आफ्नो उम्मेदवारीलाई युवाको साझा आवाजका रूपमा अघि बढाउनुभएको छ। ३५ वर्षमुनिको युवा पुस्ताको प्रतिनिधित्व गर्दै केन्द्रीय तहमा पुगेर सल्यानको आवाजलाई प्रभावकारी रूपमा उठाउने उहाँको दाबी छ।
देवकोटाले महाधिवेशन प्रतिनिधिहरूसमक्ष आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराउन अपिल गर्दै युवा नेतृत्व, पुस्तान्तरण र सशक्त काँग्रेस निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।