सल्यान २७ भदौ । सल्यानको त्रिवेणी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शनिबार दिउँसो करिब १२:५० बजे त्रिवेणी गाउँपालिका – ३ टाट्केस्थित भित्री कच्ची सडकखण्डमा दुर्घटना भएको हो।
त्रिवेणी गाउँपालिका–३ पिङखोला निवासी करिब २८ वर्षीय हरिबहादुर वलीले चलाएको रा ४ प २४३ नम्बरको मोटरसाइकलमा पछाडि सवार दाङको शान्तिनगर गाउँपालिका–१ पेदीखोला निवासी करिब ३५ वर्षीया जिता केसीले लगाएको सलवार सुटको दुपट्टा मोटरसाइकलको पछाडिको चक्कामा बेरिएको प्रहरीले जनाएको छ।
दुपट्टा चक्कामा बेरिएपछि मोटरसाइकल अनियन्त्रित भई केसी सडकमा खसेर लतारिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।घटनाको जानकारी दिउँसो १:२० बजे इलाका प्रहरी कार्यालय लुहाम, सल्यानमा प्राप्त भएपछि प्रहरी नायब निरीक्षक मानबहादुर घर्ती मगरको कमान्डमा सातजनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
प्रहरीका अनुसार घटनास्थलमा मृतकको शव तथा मोटरसाइकल चालकसमेत रहेका छन्। घटनाको थप विस्तृत विवरण प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा मुचुल्का गरेपछि खुल्ने जनाइएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय लुहामबाट करिब १५ किलोमिटर पश्चिममा पर्छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।