काठमाण्डौ, २८ साउन । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा ५ महिनापछि स्वदेश फर्कनुभएको छ । आज दिउँसो आइपुग्नुभएका देउवालाई त्रिभुवन विमानस्थलमा कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, शशाङ्क कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायत नेताहरु स्वागत गर्न पुग्नु भएको थियो । बाक्लो सङ्ख्यामा विमानस्थल पुगेका नेता कार्यकर्ताले बाजागाजासहित स्वागत गरेका हुन् ।गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा देउवा दम्पत्ती माथी सांघातिक आक्रमण भएको थियो ।
सोहि क्रममा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर जानु भएको थियो । उहा ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुग्नु भएको थियो । उहाँ हङकङबाट थाइल्यान्ड हुँदै आज नेपाल आउनुभएको हो । बूढानीलकण्ठमा रहेको घरमा समेत आगजनीमा परेपछि देउवा परिवार घर भाडामा लिएर महाराजगञ्जमा बस्दै आएका थिए । कांग्रेस संस्थापन इतर समूहले भोली शुक्रवार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी हुन देउवा आज नेपाल आईपुग्नु भएको हो ।





