२०८३ साउन २७ गते बुधवार

भेरी नदीमा बोलेरो जीप खस्दा दुई जना बेपत्ता, दुई घाइते

सल्यान २७ साउन । सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडकखण्डमा बोलेरो जीप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।
बुधबार दिउँसो करिब २ बजे बालुवासंग्राहीबाट सल्लीबजारतर्फ आउँदै गरेको लु १ ज ३०२२ नम्बरको बोलेरो जीप सडकबाट करिब २० मिटर तल भेरी नदीमा खसेको हो। जीपमा चालकसहित चार जना सवार रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा वनगाड कुपिण्डे नगरपालिका–१ आपखोलीका २९ वर्षीय प्रेम विक र सोही स्थानका २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका छन्। प्रेम विकको नाक तथा शरीरका विभिन्न भागमा चोट लागेको छ भने बुढाथोकीको बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। दुवैको अवस्था मध्यम रहेको र सल्ली सिटी अस्पताल, सल्लीबजारमा उपचार भइरहेको छ।

घाइतेहरूले दिएको विवरणअनुसार जीपका चालक दाङका करिब २३ वर्षीय हेमराज बीसी र सल्यानको सिद्धकुमाख गाउँपालिका–४ का २३ वर्षीय भीमबहादुर राना बेपत्ता भएका छन्। उनीहरू जीपसँगै भेरी नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ।घटनालगत्तै बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय सल्यान, इलाका प्रहरी कार्यालय देवस्थल, प्रहरी चौकी वनगार र इलाका प्रहरी कार्यालय रागेचौरबाट गरी ३० जना प्रहरी घटनास्थलमा खटिएका छन्।त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर सल्यानबाट   प्रहरी नायब उपरीक्षक दिपकराज गुरुङको कमाण्डमा ११ जनाको टोली पनि खोजी कार्यमा संलग्न रहेको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय देवस्थलबाट करिब ४ किलोमिटर दक्षिणमा पर्छ। बेपत्ता दुई जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी दिपक पातलीले जानकारी दिनुभयो  ।साथै  जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी दिपक पातली स्वयम् घटना स्थलमै रहेको तुलसीपुर खबरलाई जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधवार
प्रतिक्रिया