२०८३ असार २३ गते मङ्गलवार

कांग्रेसमा शक्ति संघर्ष उत्कर्षमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष निर्णायक मोडमा पुगेको छ। आगामी १५औं महाधिवेशनलाई केन्द्रमा राख्दै संस्थापन र संस्थापनइतर समूहबीच समानान्तर गतिविधि तीव्र बनेपछि पार्टी एकताभन्दा विभाजनको जोखिम बढ्दै गएको विश्लेषण हुन थालेको छ।

विशेष महाधिवेशनपछि सभापति बनेका गगनकुमार थापा नेतृत्वको संस्थापन पक्ष र पूर्वसभापति शेरबहादुर देउवा तथा पूर्णबहादुर खड्का नेतृत्वको संस्थापनइतर समूह अहिले छुट्टाछुट्टै रणनीतिमा सक्रिय छन्। निर्वाचन आयोग र अदालतबाट नेतृत्वको विवाद टुंगिए पनि राजनीतिक र सांगठनिक द्वन्द्व भने अझै मत्थर भएको छैन।

यसैबीच, संस्थापनइतर समूहले काठमाडौंको चुनदेवीमा छुट्टै सम्पर्क कार्यालय स्थापना गर्दै आफ्नो संगठन विस्तार अभियान औपचारिक रूपमा सुरु गरेको छ। कार्यालय उद्घाटन गर्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान नेतृत्वले पार्टीलाई समेट्न नसकेको आरोप लगाए। उनले विशेष महाधिवेशनले पार्टीको विधान र प्रक्रियामाथि आघात पुर्‍याएको दाबी गर्दै अब १५औं महाधिवेशनमा ‘वैधानिकता र न्याय’का लागि संघर्ष गर्ने घोषणा गरे।

कार्यालय उद्घाटनपछि बसेको बैठकले देशभर प्रादेशिक भेला सम्पन्न भइसकेको जानकारी दिँदै अब राष्ट्रिय भेला आयोजना गर्ने तयारी अघि बढाएको जनाएको छ। नेता मीनबहादुर विश्वकर्माले पार्टीलाई विभाजनबाट जोगाउन संवाद आवश्यक भए पनि नेतृत्वबाट प्रभावकारी पहल नभएको आरोप लगाए। उनले आन्तरिक विवादकै कारण कांग्रेस प्रतिनिधिसभामा ८९ सिटबाट खुम्चिएर ३८ सिटमा सीमित भएको दाबी गर्दै नेतृत्वको समीक्षा अपरिहार्य भएको बताए।

यता, सभापति गगनकुमार थापाले भने पार्टीभित्र संवादको ढोका अझै खुला रहेको दोहोर्याएका छन्। उनले सबै अग्रज नेतासँग भेटेर एकताका लागि प्रस्ताव राखिसकेको उल्लेख गर्दै समानान्तर गतिविधिले कार्यकर्तामा निराशा बढाउने बताएका छन्। थापाले मतभेद स्वाभाविक भए पनि त्यसको समाधान संवादमार्फत खोज्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : २०८३ असार २३ गते मङ्गलवार
प्रतिक्रिया