बर्दिया , ३१ जेठ । बर्दियामा ट्रकको ठक्करबाट एक जना सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ भने जवान सहित दुई जना घाईते भएका छन् । मृत्यु हुनेमा बाँसगढी नगरपालिका–५, मोतिपुरका ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार कडेल रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । ठक्करबाट गम्भीर घाइते भएका कडेललाई उपचारका लागी जिल्ला अस्पताल गुलरिया पु¥याईएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता तथा डिएसपी रेशम बोहराका अनुसार दुर्घटनामा परी बासगढी नगरपालिका–८ ककौराका ३५ वर्षीय सशस्त्र प्रहरी जवान दीपककुमार जङ शाह र ट्रक चालक मकवानपुरको बागमती गाउँपालिका–५, समरी हेटौंडाका ४० वर्षीय निरन्जन दर्जी घाइते हुनु भएको छ । शाहलाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर बाँके रिफर गरिएको छ भने चालकको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको उहाले जानकारी दिनुभयो । मृतक कँडेल र घाइते शाह दुवै जना फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुर, बर्दियामा कार्यरत थिए।






