२०८३ जेष्ठ २३ गते शनिवार

राप्ती प्रेसको विद्यालय सचेतना अभियान

भालुवाङ २३ जेठ । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले लागुऔषध, ट्राफिक तथा साइबर क्राइम सम्बन्धि विद्यालय सचेतना अभियानलाई जारी राखेको छ । मञ्चले शुक्रबार राप्ती गाउँपालिका–२ लालमटिया स्थित आदर्श नमुना माविमा कार्यक्रम गरेको छ । मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा राप्ती गाउँपालिकाका प्रवक्ता पहलवान चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थीहरूलाई बाल्यकालमै लागुऔषधको दुष्प्रभाव, सुरक्षित अनलाइन प्रयोग र ट्राफिक नियमको पालनबारे व्यावहारिक ज्ञान दिन र समुदायमा सकारात्मक सन्देश फैलाउन अभियान चलाइएको हो । कार्यक्रममा नार्कोनन नेपाल लुम्बिनी प्रदेशका संयोजक बसन्त बहादुर पुनले लागुऔषधका प्रकार, जोखिम र रोकथामबारे जानकारी गराउनुभयो । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी सहायक निरीक्षक यम विकले साइबर अपराध, अनलाइन ठगी तथा सुरक्षित सोसल मिडिया प्रयोग बारे सचेत गराउनुभयो ।

स्थायी ट्राफिक प्रहरी पोष्टका प्रमुख तथा प्रहरी वरिष्ठ नायव निरीक्षक प्रेम प्रसाद पोख्रेलले ट्राफिक नियम, हेलमेट÷सिटबेल्टको प्रयोग र सडक दुर्घटना न्यूनीकरण विषयमा प्रशिक्षण दिनु भयो । कार्यक्रममा १ सय ५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८३ जेष्ठ २३ गते शनिवार
प्रतिक्रिया