तुलसीपुर, १३ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूको शैक्षिक सत्र २०८२ को कक्षा ८ को नतिजामा १९ विद्यालयका १०९ जना विद्यार्थी अनुतिर्ण (फेल) भएका छन् । तुलसीपुर उपमहानगरपालिकाले दिएको नतिजा विवरणअनुसार कुल ४ हजार ४०४ विद्यार्थीमध्ये ४ हजार ३३६ जना परीक्षामा सहभागी भएका थिए । सहभागीमध्ये ४ हजार २२७ जना ग्रेडेड अर्थात उतिर्ण भएका छन् भने १०९ जना नन–ग्रेडेड अर्थात अनुतिर्ण भएका छन् । समग्र ग्रेडेड प्रतिशत ९७.४९ रहेको छ भने नन–ग्रेडेड प्रतिशत २.५१ रहेको विवरणमा उल्लेख छ ।
नतिजाअनुसार धेरै विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेका छन् । मा.वि. बेलझुण्डी, मा.वि. भित्रिसक्राम, नव जागरण मा.वि., बाल चेतना आधारभूत विद्यालय, बाल मितेरी मा.वि., आ.वि. कोठरी, आधारभूत स्कूल लोहाडबरा, दीप ज्योति आ.वि., लक्ष्मी मा.वि., दिपेन्द्र मा.वि., शहीद स्मृति आवासीय माध्यमिक विद्यालय, सृजनशील आधारभूत विद्यालय, आ.वि., जनज्योति मा.वि. तुहरीनियापुर, पशुपति मा.वि., जनता आ.वि. हरनेटी, श्री सरस्वती चौतारा माध्यमिक विद्यालय तथा आ.वि. रानागाउँलगायत विद्यालयले १०० प्रतिशत ग्रेडेड नतिजा ल्याएका छन् ।
त्यस्तै, गुरूजजुर मा.वि.मा २३४ विद्यार्थीमध्ये २०४ जना ग्रेडेड भएका छन् भने ग्रेडेड प्रतिशत ८९.८७ रहेको छ । मा.वि. तुल्सीपुर सेन्टरमा २४३ विद्यार्थीमध्ये २२३ जना ग्रेडेड भई ९१.७७ प्रतिशत नतिजा आएको छ । महेन्द्र मा.वि.ले ९०.६७ प्रतिशत तथा जनता संस्कृत मा.वि.ले ९२.५४ प्रतिशत नतिजा हासिल गरेका छन् । यसैगरी, केही विद्यालयमा नन–ग्रेडेड प्रतिशत तुलनात्मक रूपमा बढी देखिएको छ । वीरेन्द्र मा.वि.मा २४.०७ प्रतिशत विद्यार्थी नन–ग्रेडेड भएका छन् भने मावि (सूची नं. ३३) मा ३०.७७ प्रतिशत नन–ग्रेडेड रहेको छ । जना जागृति मा.वि.मा १४.२९ प्रतिशत तथा गुरूजजुर मा.वि.मा १०.१३ प्रतिशत विद्यार्थी नन–ग्रेडेड भएका छन् ।
तुलसीपुर उप-महानगरपालिकाले विद्यालयहरूको नतिजा सुधारका लागि शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिको सहकार्य आवश्यक रहेको जनाएको छ । शिक्षा क्षेत्रमा गुणस्तर वृद्धि गर्दै विद्यार्थीको सिकाइ उपलब्धि अझ प्रभावकारी बनाउने लक्ष्यसहित आगामी दिनमा थप सुधारात्मक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।।






