तुलसीपुर, १३ जेठ । तुलसीपुर ८ मा रहेको माध्यमिक विद्यालय अस्वाराका विद्यार्थीहरूलाई एक कार्यक्रमका बिच शैक्षिक सामग्री वितरण गरिएको छ । राप्ती लाईफ केयर हस्पिटल प्रालि तुलसीपुरको सहयोगमा विद्यालयमा विपन्न, असहाय तथा जेहेन्दार गरी ४० जना विद्यार्थीहरूलाई सामग्री प्रदान गरिएको हो ।
अस्पतालले विद्यार्थी र अभिभावकहरूलाई एकै ठाउँमा राखेर झोला, कापी, पेन्सिलका साथै स्वास्थ्य सचेतनाका लागि ब्रस र मन्जन समेत वितरण गरिएको छ । शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरूले खुसी व्यक्त गरेका छन् । सो अवसरमा राप्ती लाईफ केयर हस्पिटल र विद्यालयबीच एक महत्वपूर्ण सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार अब उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षकहरूले अस्पतालमा उपचार गराउँदा ओपिडी र इमरजेन्सी टिकट पूर्ण रूपमा निःशुल्क हुनेछ । यस्तै, विद्यार्थी, शिक्षक र अभिभावकहरूले अस्पतालका अन्य सेवाहरूमा १० देखि २५ प्रतिशतसम्म विशेष छुट प्राप्त गर्ने अस्पताल प्रशासनले जनाएको छ ।
सो अवसरमा राप्ती लाईफ केयर हस्पिटलका अध्यक्ष हरि प्रसाद रिजालले बालबालिकाहरू देशको भविष्य भएको उल्लेख गर्नुभयो । साथै उहाले हस्पिटलले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यहरूलाई निरन्तरता दिने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक निमकान्त रेग्मीले शैक्षिक सामग्री सहयोग र स्वास्थ्य सेवामा भएको छुटको सम्झौताले विद्यार्थी, अभिभावक र शिक्षक सबैलाई ठुलो राहत मिल्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन शिक्षक दिपक वलीले गर्नुभएको हो ।






