काठमाडौ, १० जेठ । वितेको एक महिनाको अवधीमा देशभर भएको सवारी दुर्घटनामा परी दुई सय भन्दा बढि नागरिकको मृत्यु भएको प्रहरीको तथ्याङकले देखाएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर वैशाख महिनामा ३ हजार ३३४ वटा सवारी दुर्घटना हुँदा २३९ जनाको मृत्यु भएको हो ।प्रहरीका अनुसार मृत्यु हुनेमा १५८ पुरुष, ५४ महिला र १७ बालबालिका रहेका छन् । वैशाख महिनामा सवारी दुर्घटनामा परी ७५२ जना गम्भीर र ३ हजार २२० जना सामान्य घाइते भएको प्रहरीको तथ्याङ्क छ ।
वैशाख महिनामा सबैभन्दा धेरै २ हजार ३६ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस गरी ४२७, बस १०१, टेम्पो २८२ वटा दुर्घटनामा परेका छन् । १६४ वटा ट्रक, ट्याङ्कर, टिपर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ । सबैभन्दा धेरै गाडी दुर्घटना दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म भएका छन् ।
एक महिनामा देशभर भएका गाडी दुर्घटनामध्ये आधाभन्दा धेरै तीव्र गतिका कारण भएको पाइएको छ । प्रहरीको तथ्याङ्क अनुसार १ हजार २५३ वटा दुर्घटना तीव्र गतिका कारण भएको थियो । यस अवधिमा १३७ दुर्घटना चालकको असक्षमता, १३३ दुर्घटना यात्रुले हतारमा बाटो काट्नु, ११२ दुर्घटना जाँड–रक्सी खाएर गाडी चलाउनु तथा ४६ वटा दुर्घटना अनावश्यक ओभरटेकका कारण भएका थिए ।ट्राफिक प्रहरीले वैशाख महिनामा १ लाख ३७ हजार ९४ जना चालकलाई कारबाही गरेर ११ करोड ८२ लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।





