काठमाडौ, २ जेठ । विभिन्न जिल्लामा भएका घटनामा परी एक बालकसहित चार जनाको मृत्यु भएको छ । रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ ।प्रहरीका अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका–७ भैसाहीस्थित सडकमा मंगलपुरबाट पर्सातर्फ आउँदै गरेको युपि ५५ एएच ८०९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुदा मोटरसाइकलमा सवार कोटहीमाई गाउँपालिका–५ नोउडीहवा बस्ने ३५ वर्षीया श्रीभावत धोवीको मृत्यु भएको छ ।
यस्तै महोत्तरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । लोहरपट्टी नगरपालिका–४ गेउरका खोलामा डुबेर सोही ठाउँ बस्ने धनबिर मण्डलको छोरा ११ वर्षीय सिदार्थ मण्डलको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै चितवनमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–३ लायन्सचोक आलुमण्डीस्थित सडकमा आनन्दमार्गबाट लाचोकतर्फ आउँदै गरेको बा।९२ प ३१३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा हुदा २१ वर्षीय अनिष कुमालको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्युपोइन्ट’बाट गत वैशाख ३० गतेदेखि हराएका एक पर्यटक आज मृत फेला परेका छन् ।हराएका व्यक्ति काठमाडौँको सङ्घाराम बुद्धविहारका भिक्षु धामिसरो रहेको पछि पहिचान भएको प्रहरीले जानकारी दिएको छ ।


















