काठमाडौँ, ३० बैशाख । हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा हुन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका लागि नयाँ कार्य तालिका निर्धारण गरेको छ । मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक संस्थाहरूलाई पठनपाठनमा स्वीकृत पाठ्यक्रमले तोकेअनुसार कार्य घण्टालाई मिलाएर कार्यान्वयन गर्न निर्देशन दिएको हो । मन्त्रिपरिषद्को गएको चैत २२ गतेको निर्णयअनुसार शैक्षिक सत्र–२०८३ मा विद्यालयमा पनि हप्ताको दुई दिन बिदा दिने निर्णय भएको थियो । यो निर्णय कार्यान्वयनका लागि मन्त्रालयले नयाँ कार्य तालिका बनाउन शैक्षिक संस्थालाई आग्रह गरेको हो ।
यो परिपत्र शिक्षा विकास तथा समन्वय इकाई, सबै पालिका र विद्यालयलाई पठाइएको छ । परिपत्रअनुसार अब पठनपाठनलाई प्रभावकारी बनाउन हरेक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समयको व्यवस्थापन गर्नुपर्नेछ । त्यस्तै सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ । हिउँदे र बर्से बिदाको अवधि साबिकको ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको छ । अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमका १२ दिनलाई उपयोग गर्न गर्नुपर्नेछ ।।


















