सल्यान, २६ बैशाख !! सल्यानको बागचौर नगरपालिका–१० भाटबिटे क्षेत्रमा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एक युवकको ज्यान गएको छ।
प्रहरीका अनुसार श्रीनगरबाट दमाचौरतर्फ निर्माण सामग्री बोकेर जाँदै गरेको भे.१ त.२०९० नम्बरको ट्याक्टर बिहान करिब ७ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको हो।
दुर्घटनामा ट्याक्टर चालक शारदा नगरपालिका–१३ निवासी अन्दाजी २५ वर्षीय बसन्त बुढाथोकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त ट्याक्टर भानुभक्त माध्यमिक विद्यालय दमाचौरका लागि आवश्यक निर्माण सामग्री ढुवानी गर्दै गएको बताइएको छ।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी नायब निरीक्षक रत्नलाल खड्काको नेतृत्वमा ६ सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनास्थल थारमारे प्रहरी कार्यालयबाट करिब १० किलोमिटर दक्षिणतर्फ पर्ने जनाइएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


















