२०८२ चैत्र २० गते शुक्रवार

स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै सुत्केरी

धनगढी । बाजुरामा एक महिलाले स्वास्थ्य संस्था पुग्नुअघि नै बाटोमै नवजात शिशुलाई जन्म दिएकी छन् । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–२ भैसागाडकी ती महिला प्रसूति व्यथा सुरु भएपछि परिवारले उनलाई फयालगाउँ आधारभूत स्वास्थ्य इकाइतर्फ लैजाँदै थिए । तर स्वास्थ्य संस्था पुग्नुअघि नै बाटोमै सुत्केरी भएकी बताइएको छ ।

उक्त अवस्थामा स्वास्थ्यकर्मी विस्ना रोकाया घटनास्थलमै पुगेर आवश्यक सहयोग गरेकी थिइन् । उनले तत्काल सुरक्षित प्रसूति गराएपछि आमाले नवजात शिशुलाई सुरक्षित रूपमा जन्म दिन सफल भएकी हुन् । आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । यस घटनालाई स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

उनले दुर्गम क्षेत्रमा स्वास्थ्य संस्था टाढा हुनु, समयमै अस्पतालसम्म पुर्‍याउन युवाशक्ति अभाव हुनु तथा गर्भवती महिलाहरूले समयमै प्रसूति केन्द्रमा पुगेर बस्ने चलन कम हुनु जस्ता समस्या रहेको उल्लेख गरेका छन् ।

स्थानीय बासिन्दाहरूका अनुसार दुर्गम भूगोल, सडक र यातायातको सीमित पहुँचका कारण गर्भवती महिलालाई समयमै स्वास्थ्य संस्थासम्म पुर्‍याउन कठिनाइ हुने गरेको छ । जसका कारण कतिपय अवस्थामा महिलाहरूले घरमै वा बाटोमै सुत्केरी हुनुपर्ने अवस्था अझै पनि देखिने गरेको उनीहरूको भनाइ छ । स्थानीयले यो घटना दुर्गम बस्तीमा सुरक्षित प्रसूति सेवामा अझै चुनौती रहेको एउटा उदाहरण भएको बताएका छन् ।

प्रकाशित मिति : २०८२ फाल्गुन २६ गते मङ्गलवार
प्रतिक्रिया