२०८२ चैत्र २० गते शुक्रवार

एमालेको चुनावी समिक्षा : जिल्लादेखि केन्द्रिय अध्यक्षले राजीनामा दिनुपर्ने माग

तुलसीपुर, २४ फागुन । दाङ क्षेत्र नं.३ मा नेकपा एमालेले अपेक्षा अनुसार चुनावी परिनाम नआउनुको कारणका विषयमा व्यापक समीक्षा गरेको छ । दाङमै पहिलो पटक, पहिलो पार्टी त्यो पनि क्षेत्र नं ३ मा गरिएको समिक्षामा स्थानीय नेता तथा कार्यकर्ता जति खुशी थिए त्योभन्दा दोब्बर आक्रोश पनि । कार्यक्रमको सुरुमै निर्वाचन आयोगका केन्द्रिय सदस्य हिराचन्द्र केसीले पार्टीको बहुपुनरसंरचना गर्नुपर्ने बताउनुभयो । नेतृत्व तह आफै विधान बन्न खोज्दा आजको समस्या आएको छ । अब ७० वर्ष माथिकालाई पार्टीबाट बिदाई गर्नुपर्छ  र पार्टीलाई बहुपूर्नसचना गर्नुपर्छ ।’ केसीले भन्नुभयो ।

समिक्षा बैठक अझै गरम बन्दै गयो । सहभागीले वडादेखि जिल्ला हुँदै केन्द्रीय कमिटीका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्नेमा जोड दिए । ‘आज साँझसम्म नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष शिवकुमार आचार्यले राजीनामा दिनुपर्छ । केन्द्रमा केपी शर्मा वलीले राजीनामा दिनुपर्छ । त्यसका लागि क्षेत्र नं ३ बाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य कोमल वली र घनश्याम पाण्डेले केन्द्रिय कमिटीमा आवाज उठाउनुपर्छ । यदि कुरा उठाउनु भएन भने दाङ नफर्किनुहोला ।’ एमाले जिल्ला कमिटी उपसचिव भुवनेश्वर पौडेलले भन्नुभयो ।

हैसियत नभएका मान्छेलाई पाटीको ठूलठूला जिम्मेवारीमा राख्ने र गाउँ पुरै खाली गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने भन्दै कार्यकर्ता भन्दा नेता धेरै हुँदा ठूलो समस्या भएको सहभागीले बताए ।  ‘प्रचार गर्नुपर्ने क्षेत्र नं ३ मा छ, तर २ नम्बर क्षेत्रमा गएर महासचिव (शंकर पोखरेल)संग फोटो खिचेर फेसबुकमा हालेको छ । के हो पारा ? यसरी चुनाव जितिन्छ ? सहभागीले प्रश्न गरे ।

सो अवसरमा दाङका प्रचार विभाग प्रमुख संगित बस्यालले माथिदेखि तलसम्म हरेक नेताले आफूले आफूलाई समय अनुसार परिवर्तन गर्न नसके भोलिका दिनमा यो भन्दा अझ भयावह अवस्था आउन सक्ने बताउनुभयो । महिला नेतृ द्धोय तुलसा पोख्रेल र युवा कराराले वडा अध्यक्ष देखि मेयर उपमेयरले जनअपेक्षा अनुसार काम नगर्दा त्यसको ठूलो असर अहिले निर्वाचनमा परेको बताउनुभयो । निर्वाचनको समयमा खटेका पार्टी कार्यकर्ताहरूले जनतालाई विगतमा देखाएको आशा र अपेक्षा अनुसार जितेर गएको जनप्रतिनिधिले काम नगर्दा स्वयम कार्यकर्ता र जनतामा निराशा छाएको उनिहरुले बताए ।

समीक्षा कार्यक्रममा केन्द्रिय सल्लाहकार परिषद सदस्य ढुण्डिराज लामीछाने,दंगीशरण गाउँकमिटीका अध्यक्ष वसन्त वली, बबई गाउँकमिटी अध्यक्ष टंकराज विश्वकर्मा, शान्तिनगर गाउँकमिटीका सचिव राजेश खत्री, राष्ट्रिय युवा संघ दाङका अध्यक्ष विवेक योगी, पार्टीका जिल्ला सदस्य डिल्ली डाँगी, विष्णु केसी, बिरबल खडका, रामबहादुर जिसी लगायतले आ–आफ्ना धारणा राख्नु भएको थियो ।

सो अवसरमा प्रत्यक्ष र समानुपातिक उम्मेदवार घनश्याम पाण्डे र कोमल वलीले निर्वाचनको समयमा खट्ने नेता, कार्यकर्ता तथा मतदाता सबैलाई धन्यवाद दिनुभयो । नेता कार्यकर्ताको सबै गुनासो टिपोट गरि राखेको बताउँदै आगामी दिनमा पार्टीलाई अझ, चलायमान र गतिशिल बनाउनका लागि आफ्नो भूमिकमा कहिकतै कमजोरी हुन नदिनका लागि अधिकतमा प्रयास गर्ने बताउनुभयो ।  कार्यक्रम निर्वाचन परिचालन कमिटीका संयोजक श्याम डाँगीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन मेघराज भुसालले गर्नुभएको थियो । 

प्रकाशित मिति : २०८२ फाल्गुन २४ गते आइतवार
प्रतिक्रिया