काठमाडौ, ११ फागुन ।धार्दिङ बस दुर्घटनामा परी घाइते भएका मध्ये एक जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ ।ट्रमा सेन्टरमा उपचारको क्रममा एक जनाको मृत्यु भएसंगै दुर्घटनामा परी मृत्यु हुनेको संख्या १८ पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । उहाको नाम खुल्न बाँकी रहेको र ठेगाना भने स्याङ्जा रहेको प्रहरीले जनाएको छ ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको पृथ्वी यातायात व्यवसायी समितिको बस गएराति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको थियो ।घटनास्थलमा १७ जनाको मृत्यु भएको थियो । बसमा सवार ४४ जनामध्ये २७ जनालाई उपचारका लागि काठमाडौं लगायतका विभिन्न अस्पताल पठाइएको प्रहरीले बताएको छ ।
रातिको समयमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय र्याफ्टिङ व्यवसायीले मानिसहरुको उद्धार गरेका थिए ।बस सडकबाट तल त्रिशूली किनारको ढुंगामा बजारिएर क्षतविक्षत भएको छ । दुर्घटनाको विस्तृत विवरण आउँन बाकी रहेको प्रहरीले जानकारी दिएको छ ।





