काठमाडौ, ११ फागुन ।पोखराबाट काठमाडौं जादै गरेको यात्रुवाहकबस गएराती त्रिशूली नदीमा खसेर दुर्घटना भएको छ । दुर्घटनामा परी ६ महिला र ११ पुरुष गरी १७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २७ जना घाइतेलाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको प्रहरीले बताएको छ ।
दुर्घटनामा विदेशी पर्यटकहरु पनि परेको प्रहरीको भनाई छ । दुर्घटनामा ज्यान गुमाएकाहरु पहिचान हुन बाँकी रहेको छ । पृथ्वी राजमार्ग अन्तर्गत पोखराबाट काठमाडौंतर्फ जादै गरेको ग१ख १४२१ नम्बर बस गएराति करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो । सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर बस क्षतविक्षत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरुलाई करिब एक किलोमिटर तलसम्म पुर्याएर, त्यहाँबाट सडकमा उकालेर, एम्बुलेन्समा राख्दै अस्पताल पठाइएको थियो ।दुर्घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।





