तुलसीपुर, १५ माघ । दाङको तुलसीपुरमा ६४औँ राष्ट्रिय नर्सिङ दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “सुरक्षित र मर्यादित नर्सिङ पेशा, जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा” भन्ने नाराका साथ नेपाल नर्सिङ संघ जिल्ला समिति दाङको आयोजना तथा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, लुम्बिनी प्रदेश समितिको समन्वयमा कार्यक्रम गरिएको हो । कार्यक्रममा नर्सिङ पेशाको वर्तमान अवस्था, पेशागत चुनौती तथा भावी सम्भावनाका विषयमा विस्तृत छलफल गरिएको छ । नर्सहरूको कार्यक्षेत्रमा देखिएका समस्या, सेवाको गुणस्तर अभिवृद्धि, पेशागत सुरक्षा, तलब–सुविधा तथा अवसर विस्तारलगायतका विषयमा अन्तरक्रिया गरिएको सहभागीहरूले बताएका छन् । साथै जनस्वास्थ्य सुदृढीकरणमा नर्सहरूको भूमिकालाई अझ प्रभावकारी बनाउने उपायबारे पनि छलफल गरिएको हो ।
कार्यक्रममा बोल्दै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरकी नर्सिङ प्रमुख तथा वरिष्ठ नर्सिङ अधिकृत सविता कौशलले नर्सिङ पेशालाई सुरक्षित, सम्मानित र मर्यादित बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रमकी प्रमुख अतिथिसमेत रहनुभएकी कौशलले नर्सहरूले सेवाग्राहीलाई मुस्कानसहित सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । व्यवहारिक सुधारमार्फत मात्र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सकिने भन्दै नर्सिङ पेशाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।
यस्तै, कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष द्रोणबहादुर ओलीले नर्सिङ कर्मचारीबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो । यस्ता अन्तरक्रिया कार्यक्रमहरू नियमित रूपमा, कम्तीमा दुई महिनामा एक पटक आयोजना गर्नुपर्नेमा जोड दिँदै उहाँले पेशागत मर्यादा कायम राख्दै आफ्ना अधिकारका पक्षमा आवाज उठाउनुपर्ने बताउनुभयो । सामाजिक सञ्जालमार्फत स्वास्थ्यकर्मीमाथि प्रश्न उठ्ने गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले के गर्ने र के नगर्ने भन्ने विषयमा सबै स्वास्थ्यकर्मी सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । साथै स्वास्थ्यकर्मीहरूको हकहित संरक्षणसँगै भौतिक, नैतिक तथा आर्थिक सुधारका लागि आफू निरन्तर सक्रिय रहेको र आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. शिशिर पोख्रेल, वरिष्ठ सर्जन डा. सुशील आचार्य, डा. विशाल सहानी, स्वास्थ्य कार्यालय दाङकी पब्लिक हेल्थ नर्स रिता न्यौपाने, नेपाल नर्सिङ संघ दाङकी पूर्वअध्यक्ष राधा पौडेललगायतको उपस्थिति रहेको थियो ।
सहभागीहरूले नर्सिङ पेशाप्रति समाज र राज्यको दृष्टिकोण परिवर्तन हुनुपर्नेमा जोड दिँदै नर्सहरूको सम्मान, सुरक्षा तथा पेशागत अधिकार सुनिश्चित गर्न सबै सरोकारवाला एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन् । कार्यक्रममा दाङका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सहरू, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नेपाल नर्सिङ संघ दाङका अध्यक्ष बिमला पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण संघकी सदस्य कमला खड्काले गर्नुभएको थियो ।



