तुलसीपुर, १४ माघ । सामुदायिक विद्यालयमा देशकै सर्वोत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाएको मेघा विद्यालय मावि तुलसीपुर सेन्टरले मंगलबार ५५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले विद्यालयको प्रगति विवरण पेश गर्दै विद्यालयमा कक्षा १ देखि १२ सम्म अहिले दुई हजार पाँच सय ८९ जना विद्यार्थीले अध्ययन गरिरहेको बताउनुभयो । उहाँले विद्यालयको औसत सिकाइ उपलब्धि २ दशमलव ८४ जिपिए रहेको र आगामी शैक्षिक वर्षमा ३ जिपिए भन्दा माथि पु¥याउने लक्ष्य रहेको जानकारी दिनुभयो । मा.वि तुलसीपुर सेन्टरमा आवद्ध शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका छोराछोरीले सोही विद्यालयमै अनिवार्य रुपमा पढाउनुपर्ने प्रावधान समेत रहेकोले अभिभावकको थप विश्वास जितेको प्रधानाध्यापक पौडेलले बताउनुभयो ।
विद्यालयमा दाङसहित रोल्पा, सल्यान, जुम्ला लगायत ठाउँबाट विद्यार्थी अध्ययनका लागि आएका छन् । विद्यालयमा प्राविधिक धारतर्फ पनि पठनपाठन भइरहेको छ भने संगीत कक्षासमेत सञ्चालनमा छ ।



















