तुलसीपुर, १३ माघ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ५ बेडको आइसोलेशन राख्ने तयारी गरिएको छ । निपाह भाइरस संक्रमितहरुको उपचारका लागि पूर्व तयारी अन्तर्गत आइशोलेसन राख्ने निर्णय गरिएको राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम न्यौपानेले जानकारी दिनुभयो । भारतमा फैलिएको निपाह भाइरसको संक्रमण नेपालमा पनि फैलिन सक्ने भएकाले उपचारमा सहजताका लागि अस्पताल प्रशासनले छुट्टै आइशोलेसनको व्यवस्था गरेको अध्यक्ष न्यौपानेले बताउनुभयो । निपाह भाइरस चमेरो र सुंगुरबाट सर्ने भएको नेपालमा यसको जोखिम उच्च रहेको छ ।
यसबाट संक्रमित भएका मध्य ६० प्रतिशतसम्म मात्रै बाँच सक्ने सम्भावना भएकाले यसलाइई अति खतरकनाक भाइरसको सूचिमा राखिएको छ । चमेरोले जुठो गरेर छाडेको फल खाएका कारण मानिसमा संक्रमण भएको विभिन्न अनुसन्धानहरूले देखाएका छन् । संक्रमण भएको ४ देखि १४ दिनभित्र निपाह भाइरसका लक्षणहरू देखिन थाल्छन् । सुरुमा ज्वरो आउने, शरीर दुख्ने, घाँटी दुख्ने, बान्ता हुनेजस्ता लक्षण देखिन्छन् ।
त्यसपछि बिरामीमा इन्सेफ्लाइटिस (मस्तिष्कको सूजन) का लक्षण देखिन सक्छन् । यस्तो गम्भीर अवस्था आएमा बिरामी २४ देखि ४८ घण्टाभित्र अचेत अवस्था (कोमा)मा जान सक्छ । साथै, निमोनिया तथा अन्य श्वासप्रश्वाससम्बन्धी समस्या पनि देखिन सक्छ । उपचारपछि निको भएका करिब २० प्रतिशत बिरामीमा दीर्घकालीन स्नायु सम्बन्धी समस्या हुन सक्ने देखिएको छ । हालसम्म यस भाइरसविरुद्ध विशेष एन्टिभाइरल औषधि वा खोप विकास भइसकेको छैन ।
यसका लक्षणहरू फ्लू वा अन्य संक्रमणसँग मिल्दोजुल्दो हुने भएकाले प्रयोगशाला परीक्षणबाट मात्र निश्चित निदान गर्न सकिन्छ । संक्रमितको रगत, पिसाब, ढाडको पानी वा नाक तथा घाँटीको स्वाब नमुनाबाट पीसीआर वा एलाइजा परीक्षण विधिबाट भाइरसको पुष्टि गर्न सकिन्छ ।
हालै भारतमा निपाह भाइरस देखिएपछि नेपालले पनि परीक्षणको तयारी गरेको भन्ने जानकारी आएको छ । त्यसैले हाल भारत बाट फर्किएका र माथि उल्लेखित लक्षण देखिएका व्यक्तिहरूले परीक्षण गराउनु आवश्यक छ । यसले सम्भावित आउटब्रेकलाई समयमै रोक्न मद्दत पु¥याउनेछ । नेपालमा पनि अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा बिरामीको उपचार गर्दा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) प्रयोग गरिएको देखिँदैन । यसले यदि यो भाइरस फैलिएमा नेपालका स्वास्थ्यकर्मीहरू उच्च जोखिममा रहेको संकेत गर्छ ।


















