२०८२ माघ १ गते बिहिवार

सिमलतालमा भेटिएको बसको अवशेष निकाल्ने प्रयास जारी

तस्विर : केशवराज थापा

दाङ, १ माघ । डेढ वर्षअघि चितवनको भरतपुर–२९, सिमलतालस्थित त्रिशूली नदीमा वेपत्ता भएका दुई वटा बस मध्ये गत आईतवार भेटिएको गणपति डिलक्सको बसको अवशेष निकाल्ने काम भईरहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसी नजिकै २०८१ असार २८ गते पहिरोले बगाउदा दुई वटा बस त्रिशूलीमा खसेर बेपत्ता भएका थिए ।

माछा मार्ने क्रममा जाल अड्किएपछि स्थानीयले खोतलेर हेर्दा बसजस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले बसको पहिचान गरी अवशेष निकाल्ने प्रयासलाई निरन्तर जारी राखेकोे छ । नेपाल प्रहरी र शसत्र प्रहरीको टोली निरन्तर रुपमा लागे पनि बसको अवशेष निकाल्न सहज नभएको प्रहरीले बताएको छ ।

काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस नारायणगढदेखि २२ किलोमिटर पूर्वोत्तर सिमलतालमा पहिरोमा पुरिएर बेपत्ता भएका थिए । दुवै बसका ६५ यात्रुमध्ये गणपति यातायातको बसमा सवार तीन जना यात्रु घाईते भएका थिए भने दर्जनौ मानिसको शव फेला परेको थियो । बाँकी अझै बेपत्ता रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ माघ १ गते बिहिवार
प्रतिक्रिया