२०८३ बैशाख ११ गते शुक्रवार

लुम्बिनीका स्वास्थ्य कार्यालयहरूलाई बेरुजु शुन्यमा झार्ने सामूहिक प्रतिबद्धता

भालुवाङ २३ पुस ।  लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रलाई आगामी वर्षभित्र बेरुजुलाई शून्यमा झार्ने स्वास्थ्य क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूले साझा प्रतिबद्धता जनाएका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा पुस २१ र २२ गते दाङको भालुवाङ स्थित होटल पौवामा आयोजित बेरुजु समीक्षा गोष्ठी तथा शून्य बेरुजु प्रोत्साहन कार्यक्रममा सहभागी स्वास्थ्य क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूले आगामी वर्षभित्र स्वास्थ्य क्षेत्रलाई ‘शून्य बेरुजु’मा झार्ने सामूहिक प्रतिवद्धता व्यक्त गरेका हुन् । स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षता एवम् स्वास्थ्य मन्त्री खेमबहादुर सारू मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागीहरुले शून्य बेरुजु रहेका कार्यालयहरुले आ–आफ्नो कार्यालयको शून्य बेरुजुको अवस्थालाई कायम राख्ने र बेरुजु रहेका कार्यालयहरुले प्रचलित कानूनी प्रक्रिया अवलम्वन गरी बेरुजु शून्य बनाउन आर्थिक बर्ष २०८२/०८३ को लेखापरिक्षाणमा शून्य बेरुजु हाँसिल गर्न उच्चतम प्रयास गर्ने, हाल सम्मका असुल उपर हुनुपर्ने भनि उल्लेख भएका सम्पुर्ण बेरुजुहरु २०८३ आषाढ मसान्त भित्र असुल उपर गरिसक्ने, नियमित गर्नुपर्ने बेरुजुको आधार र प्रमाण खोली मन्त्रालयमा लेखाउत्तरदायी अधिकृत समक्ष पेश गरी २०८३ असार मसान्त भित्र नियमित गराउने प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै उनीहरुले कागज प्रमाण पेश गर्नुपर्ने बेरुजुको हकमा कागज प्रमाण तयार गरी २०८३ असार मसान्त भित्र एन.ए.एम.एस प्रणालीमा प्रविष्टी गरिसक्ने, पेश्की बेरुजुको हकमा नियमानुसार तुरुन्त फछ्यौट गर्न लगाउने, फछ्यौट हुन नसक्ने अबस्था भए असुलउपरको प्रक्रियामा लैजाने र बेरुजु फछर्योट कार्यमा सहजीकरण गर्ने उद्देश्यार्थ मन्त्रालयमा गठित बेरुजु फछर्योट सहजीकरण समितिलाई अझ बढी सकिय र प्रभावकारी बनाउने र सो समितिबाट माग भएका सम्पूर्ण कागजप्रमाण तथा आफ्नो कार्यालयमा बेरुजुको सम्बन्धमा भए गरेका प्रगति तथा प्रयास सहितको प्रतिवेदन मासिक रुपमा हरेक महिनाको ५ गते उक्त समितिलाई पेश गर्ने समेत प्रतिबद्धता जनाएका छन् । त्यस्तै उनीहरूले अडिट प्रतिवेदन कार्यान्वयन, बिल–भौचर समायोजन, विवरण अद्यावधिक, जिम्मेवारी तोकिएर काम गर्ने र निगरानी÷अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाए ।

सूचना प्रविधिको प्रयोग विस्तार, आवश्यकता अनुसार तालिम, र समयमै खर्च प्रमाणिकरण मार्फत अनियमितता रोकथाम गर्ने साझा कार्ययोजना अघि बढाइने निष्कर्ष निकालेको छ । सहभागीहरूले संयुक्त रूपमा व्यक्त गरेको प्रतिबद्धता कार्यान्वयनमा आउन सके लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्र वित्तीय पारदर्शिता र सुशासनको उदाहरण बन्ने अपेक्षा गरिएको छ । कार्यक्रममा बोल्दै मन्त्री सारूले सुशासन र पारदर्शिताको आधार नै समयमै खर्च व्यवस्थापन र प्रमाणिकरण भएको उल्लेख गर्दै बेरुजु घटाउने विषयलाई मन्त्रालयको प्रमुख प्राथमिकतामा राखिने बताए । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक रोशनलाल चौधरी, प्रदेश तालिम केन्द्र बुटवलका लेखा प्रमुख उपज ज्ञवाली, भिम अस्पताल रुपन्देहीका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. वर्षा थापा लगायतका वक्ताहरूले बोल्नु भएको थियोे । गोष्ठीको सञ्चालन वरिष्ठ नर्सिङ प्रशासक ईश्वरी केसीले गरेकी थिइन् ।

कार्यक्रममा मन्त्रालय, मातहतका महाशाखा प्रमुखहरु, स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, स्वास्थ्य तालिम केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशकहरु, अस्पताल प्रमुखहरु, स्वास्थ्य कार्यालयका प्रमुखहरु, आयुर्वेद चिकित्सालय तथा स्वास्थ्य केन्द्रका प्रमुख तथा लेखा प्रमुखहरु गरि ९५ जनाको सहभागीता रहेको थियो । लुम्बिनी प्रदेशमा बितेको १ वर्षको अवधीमा ९ वटा स्वास्थ्य संस्थाहरुले बेरुजुलाई शून्यमा झार्न सफल भएका छन् । यसरी बेरुजुलाई शून्यमा झार्न सफल हुने स्वास्थ्य संस्थाहरुमा बर्दिया अस्पताल गुलरिया, स्वास्थ्य कार्यालय रोल्पा, आयुर्वेद स्वास्थ्य केन्द्र कपिलवस्तु, आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मी, आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्व, आयुर्वेद स्वास्थ्य केन्द्र नवलपरासी पश्चिम, स्वास्थ्य कार्यालय प्युठान, आयुर्वेद स्वास्थ्य केन्द्र पाल्पा र आयुर्वेद स्वास्थ्य केन्द्र अर्घाखाँची रहेका छन् ।।

प्रकाशित मिति : २०८२ पुष २३ गते बुधवार
प्रतिक्रिया