दाङ, पुस १४ । दाङको घोराही उपमहानगरपालिका वडा नं ५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोहलले आज आइतवार एक कार्यक्रम गरी विद्यालयको ४५ औं बार्षिकोत्सव मनाएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको सभापतित्वमा एंव घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले घोकत्ने र गृहकार्य सार्ने विद्यार्थी नभई युग सापेक्ष सिर्जनात्मक विद्यार्थी देशले खोजिरहेको भन्दै सिर्जनात्मक विद्यार्थी बनाउनेतिर लाग्न शिक्षकहरुलाई आग्रह गर्नुभयो । अरु सवै खराव र आफूमात्रै राम्रो भन्ने गलत प्रबृत्ति अहिले समाजमा हावी भएको भन्दै उहाले बिचारको धनी र नविनतम सोच भएको नागरिक तयार गर्नुपर्नेमा जोड दिनुभयो । सरस्वती माध्यमिक विद्यालय बजारको केन्द्रबिन्दुमा भएरपनि अपेक्षा गरे अनुसार हुन भन्दै उहाले विद्यालयको शैक्षिक तथा भौतिक बिकासका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खिमप्रकाश पुरीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदनमा विद्यालयको वर्तमान समग्र अवस्था, समस्या, सामाधानका उपाय सहित आगामी रणनितिका उल्लेख गरिएको छ । कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै उहाँले सवैको साझा प्रयासबाट विद्यालयमा गुणस्तरीय शिक्षा सहित समग्र बिकासमा लाग्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
सरस्वती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश डाँगीकोे स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा चन्दादाता एंव समाजसेवी शंकर गौतम, अक्षकोषदाता हरिप्रसाद सुवेदी जरा, पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेत, बाल बिकास माध्यमिक विद्यालयका प्रधानाध्यापक खिमबहादुर बुढा, सरस्वती माविका शिक्षक अभिभावक संघका अध्यक्ष दिपबहादुर खत्री, विद्यालयका निवर्तमान प्रधानाध्यापक बसन्ता पौडेल, विद्यालयका सूचना अधिकारी कुलशेखर शर्मा, प्लस टु संयोजक शम्शेर नेपाली, आई टि संयोजक लक्ष्मण गिरी लगायतका बक्ताहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले अभिभावक, शिक्षक र विद्यार्थीहरुको साझा प्रयासबाट शिक्षाको गुणस्तर बृद्धि गर्न सकिनेमा जोड दिएका छन । घोराही बजारको केन्द्र बिन्दुमा रहेको सरस्वती माध्यमिक विद्यालयको चौतर्फी बिकास लागि सवै एक भएर लाग्नु पर्ने बक्ताहरुको भनाई छ । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक हेमराज शर्माले गर्नु भएको थियो ।
कार्यक्रममा गत शैक्षिक सत्रमा बिभिन्न कक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो । बाषिकोत्सव समारोहमा विद्यालयमा बिभिन्न चन्दादाताहरुले स्थापनका गर्नु भएको अक्षयकोषबाट बिभिन्न बिधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद पुरस्कार समेत बितरण गरिएको थियो । साथै बार्षिकोत्सवका अवसरमा आयोजित बिभिन्न अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।



