दाङ, ६ पुस । दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धनेश्वर नेपाललाई आज बिहान अपरिचित समूहले कुटपिट गरेको छ । ३ वटा मोटरसाइकलमा आएका ६ जनाको एक समूहले संस्कृत विश्व विद्यालयमै रहेको नेपालको आवासमा प्रवेश गरेर कालोमोसो दल्नुका साथै कुटपिट गरेको विश्व विद्यालय प्रशासनले जानकारी दिएको छ ।
नेपालमाथि आक्रमण हुुँदा छेक्न गएका विश्व विद्यालयका उपप्रशासक खिम बहादुर केसी र नेपालका स्वकीय सचिव चोलेन्द्र रिजाललाई पनि सोअपरिचित समूहले दुव्र्यवहार गरेको छ । घटना लगत्तै उनिहरुले नेकपा बहुमत जिन्दावादको नारा लगाएर विद्यालयबाट बाहिरिएका थिए । यता प्रहरीले घटना बिहान साढे ८ बजे पुष्टि गरेको छ ।
बिहानपख कुइरो लागेका कारण सीसी क्यामराको फुटेजमा क्लियर नदेखिएकाले उनिहरुको पहिचान हुन नसकेको र खोजीका लागि प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी होम बहादुर पराजुलीले बताउनुभयो । बेलझुण्डी विश्वविद्यालय परिसरमै प्रहरी चौकी भएपनि उपकुलपतिको निबासमै पुगेर अपरिचित समूहले मोसो दलेका थिए । उपकुलपति प्राध्यापक डा. नेपालको घोराहीमा नाकको सीटी स्क्यान गरिएको छ ।



