२०८२ फाल्गुन १ गते शुक्रवार

पशुपति मावि तुलसीपुरमा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी अभिमुखीकरण

तुलसीपुर २ पौष । विद्यालय स्तरमा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी अभिमुखीकरण कार्यक्रम तुलसीपुर १२– स्थित पशुपति मावि हरिपौरामा सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरको संयुक्त आयोजनामा उक्त अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको हो ।

कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बरालले खाद्य स्वच्छता र गुणस्तर, खाद्य स्वच्छतालाई प्रभाव पार्ने तत्व, खाद्य वस्तुको लेबलिङ, प्याकेजिङ लगाएतका विषयमा जानकारी गराउनुभएको थियो । विशेषगरी विद्यालय स्तरका बालबालिकाले आफुले खाने खानाको गुणस्तरमा ध्यान नदिने र अल्पपोषक,अखाद्य खानेकुराको सेवन बढी गर्ने भएकाले खाद्य स्वच्छतालाई स्वास्थ्य र शिक्षासँगै जोडेर लैजानुपर्ने विद्यार्थी र शिक्षकलाई आग्रह समेत गर्नुभएको थियो ।

यस्तै तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य अधिकृत बिमल केसीले पनि प्रतिवेदन प्रस्तुत गर्दै स्वस्थ खानपान र स्वस्थ जिवनशैली अति आवश्यक भएको बताउनुभएको थियो । खानपान र आहारबिहार नमिल्नुको कारण नै अहिलेका बालबालिकामा मनोसामाजिक समस्याहरु चुनौतिको रुपमा देखिन थालेको बताउनुभयो । बालबालिकाको उमेर अनुसार हुनुपर्ने शारिरीक स्वस्था र बानीव्यवहारमा फरकपना देखिदै गएकाले स्वस्थ खानपानमा जोड, मोबाईल फोनबाट टाढा रहन, दैनिक शारिरीक ब्यायम र ध्यान योगलाई अपनाउन सके जीवन सहज हुनेभएकाले यस तर्फ ध्यान दिन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको थियो ।

तुलसीपुर उपमहानगरपालिकाकी उपमेय स्यानी चौधरीले पनि बालबालिकाहरु भविष्यको कर्णधार भएकाले भविष्य उज्यालो बनाउन अहिले जग बलियो बनाउनु पर्ने बेला भएको बताउनुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएकी चौधरीले बिद्यार्थीले सिकेका राम्रा कुराहरुलाई घरपरिवार र साथीसंगी सम्म पनि जानकारी गराउँदै सधै सकरात्मक सोच विकास गर्नुपर्ने बताउनुभयो ।

यस्तै तुलसीपुर उपमहानगरपालिका १२ का वडा अध्यक्ष खुशीराम चौधरी, विद्यालय व्यवस्थपन समितिका अध्यक्ष खगेन्द्र अधिकारी, प्रधानाध्याक राधा चौधरीले खाद्य स्वच्छता र गुणस्तर सम्बन्धी कार्यक्रमले धेरै दैनिक जिवन र स्वास्थ्यसँग जोडिएका कुराहरुको सिकाई भएको बताएका थिए ।

यस्तै तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठले आफुहरु सरकारको तर्फबाट सधै उपभोक्ताको हक हितका लागी लागीरहँदा उपभोक्तहरु पनि आफुले खरिद गर्ने हरेक उपभोग्य सामाग्रीको विशेष ख्याल गर्दै सधै सामान खरिद गर्दा अनिवार्य बिल लिन पर्ने बताउनुभयो । कार्यक्रममा १ सय ५० भन्दा धेरै विद्यार्थीसँगै शिक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण खाद्य निरिक्षक सुदर्शन गोसाईले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ पुष २ गते बुधवार
प्रतिक्रिया