घोराही । नेपालकै दोस्रो धेरै उपन्यास प्रकाशित गर्नु भएका उपन्यासकार सविन प्रियासनले यस वर्ष तीन वटा उपन्यास प्रकाशित गर्नु भएको छ । उहाँको मंसिर १८ गते तेह्रो उपन्यास नयाँ लुगा विमोचन हुँदैछ । यो सँगै प्रियासनले यस वर्ष नयाँ लुगा, कालो मन र कडी उपन्यास प्रकाशित गर्नु भएको छ । नेपालकै दोस्रो धेरै उपन्यास प्रकाशित गर्नु भएका उपन्यासकार प्रियासनको यस अगाडी १२ वटा उपन्यास र एक वटा कथा संग्रह र एक वटा सम्पादकीयको संग्रह प्रकाशित छ ।
साहित्य, पत्रकारिता र समाजसेवामा सक्रिय प्रियासनले यही क्षेत्रमा लागेर सरकारबाट विभुषीत समेत भैसक्नु भएको छ । राष्ट्रिय स्तरका थुप्रै सम्मान र पुरकार पाउनु भएका प्रियासन दाङबाट प्रकाशित हुने गणतन्त्र राष्ट्रिय दैनिकको प्रकाशक, प्रधानसम्पादक समेत हुनुहुन्छ । उहाँ हाल नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव समेत हुनुहुन्छ । घोराही बनाऔं अभियानको संयोजक भएर विभिन्न सामाजिक अभियानहरु समेत चलाई रहनु भएका प्रियासनका सबै जसो पुस्तकहरुमा प्रेम, घरपरिवार, समाज अनि मुलुकको समृद्धि र विकासका चर्चाहरु गरिएका हुन्छन् ।
नयाँ लुगा उपन्यास बाल मनोविज्ञानमा आधारित छ । यसमा बालबालिकाहरुलाई सही बाटोबाट अगाडी बढाउनका लागि चाहिने खुराकहरु समावेश गरिएका छन् । यस बाहेक उपन्यासमा उपन्यासकै कथाबस्तुसँग मिलाएर दुईदर्जन बढि सचेतनामुलक बालकथाहरु समेत समावेश गरिएको प्रियासनको भनाइँ छ । विशेष गरी बालबालिकाहरुलाई नयाँ लुगा उपन्यासले धेरै कुरा सिकाउने प्रियासनको विश्वास छ ।
राप्ती साहित्य परिषद्का पूर्व केन्द्रीय महासचिव भएर काम गरिसक्नु भएका प्रियासनको नयाँ लुगा उपन्यास राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा विमोचन कार्यक्रम हुन लागि रहेको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाकक्षमा मंसिर १८ गते विहीबार विहान ११ः३० बजे नयाँ लुगा उपन्यासको विमोचन हुने परिषद् दाङका अध्यक्ष यम रेग्मीको भनाइँ छ । सो दिन विभिन्न असहाय बालबालिकाहरुलाई नयाँ लुगा वितरण गर्ने कार्यक्रम समेत रहेको प्रियासनले जानकारी दिनुभयो ।

