दाङ, ९ कात्तिक । परोपकार र मानवसेवाभाव क्रमशः हराउँदै गएको आजको समयमा तुलसीपुरका एक युवाले जन्मदिनलाई नयाँ अर्थ दिनेगरि मनाउनु भएको छ । तुलसीपुर उपमहानगरपालिका–८अश्वारा निवासी अनिल बस्नेतले आफ्नो जन्मदिनको अवसरमा सडकआश्रित मानवहरुलाई दिवा भोजन गराउनु भएको हो । हाल अस्ट्रेलियामा अध्ययनरत बस्नेतले आफ्ना पिता मेघराज बस्नेत र माता सारदा बस्नेत मार्फत तुलसीपुरस्थित मानवसेवा आश्रममा रहेका ७६ जना सडकआश्रित, असहाय, अशक्त, अनाथ तथा अभिभावकविहीन व्यक्तिहरूलाई भोजन गराउनु भएको हो ।
बस्नेतले विगत तीन वर्षदेखि निरन्तर रुपमा आफ्नो जन्मदिन यसै गरी मानवसेवा कार्यसँग जोडेर मनाउँदै आउनु भएको छ । उहाँका अनुसार उत्सव र रमाइलोका नाममा हुने फजुल खर्चलाई अभावमा रहेका नेपालीको सहयोगमा खर्च गर्न सकिए समाजमा सकारात्मक संस्कार विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
मानवसेवा आश्रमले सडकपेटी, सार्वजनिक स्थल र खुला आकाशमुनि कष्टपूर्ण जीवन बिताइरहेका सडकआश्रित मानवहरूको संरक्षण, पालनपोषण, औषधोपचार र पुनस्र्थापनाका लागि निरन्तर काम गर्दै आएको छ । अनिल बस्नेतको यो कदमले जन्मदिनलाई मात्र खुशीको दिन होइन, सेवा र सहानुभूतिको पर्वका रूपमा रूपान्तरण गर्ने उदाहरणीय सन्देश दिएको छ ।
भिडियो हेर्न क्लिक गर्नुहोस ।


