दाङ, २७ असोज । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोख्रेलले पत्रकारितामा एआईलाई अवसरको रूपमा लिनुपर्ने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ दाङले घोराहीमा आयोजना गरेको ‘पत्रकारितामा एआई’ विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष पोख्रेलले प्रविधिलाई डर होइन, दक्षता बनाउन सिक्नुपर्ने बेला आएको बताउनुभयो । एआईको प्रयोगले समाचार संकलन, सम्पादन र वितरण प्रणालीमा गति ल्याउने भए पनि यसको जिम्मेवार प्रयोगका लागि पत्रकारहरू नै अग्रमोर्चामा रहनुपर्ने पोख्रेलले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका सचिव सविन प्रियासनले महासंघले देशभर एआई साक्षरता र डिजिटल दक्षता सम्बन्धी कार्यक्रम विस्तार गर्ने बताउनुभयो । एआईलाई पत्रकारहरूको दक्षता बढाउने औजारको रूपमा लिँदै प्रदेश र जिल्लास्तरमा नियमित तालिम सञ्चालन गर्ने तयारी गरेको प्रियासनले बताउनुभयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य शरद अधिकारीले पत्रकारितामा एआईको प्रयोगसँगै नियमन र नीति निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो ।
उक्त अवसरमा प्रशिक्षक अजय शर्माले पत्रकारितामा एआईको प्रयोग, सम्भावना, जोखिम र भविष्यका विषयमा जानकारी गराउनु भएको थियो । एआईलाई पत्रकारको प्रतिस्पर्धी नभई सहयोगी उपकरणका रूपमा बुझ्न आग्रह गर्दै शर्माले पत्रकारले यसलाई सृजनात्मक, अनुसन्धानमुखी र तथ्यआधारित समाचार उत्पादनमा प्रयोग गर्नु पर्ने बताउनुभयो । महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागीता रहेको थियो । महासंघका उपाध्यक्ष ओपेन्द्र बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासंघका सहसचिव प्रकाश चौधरीले गर्नुभएको थियो ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।