
दाङ । नेकपा माओवादी केन्द्रभित्र सामाजिक, सांस्कृतिक र आर्थिक विचलन को विषय दाङमा बलियो रूपमा उठ्न थालेको छ । मगर राष्ट्रिय मुक्ति मोर्चा दाङको आयोजना गरेको शुभदीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अधिकांश वक्ताहरूले नेताहरू सांस्कृतिक, सामाजिक र आर्थिक रूपमा पतन हुँदै गएको आरोप लगाएका थिए । सो अवसरमा विशिष्ट अतिथि दामा शर्माले नेताहरूको विचलनले आन्दोलनका मूल्यमान्यतामाथि प्रश्न उठाएको बताउँदै शक्तिशाली आयोग गठन गरी कारबाही गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
त्यस्तै, नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपालिका इन्चार्ज मिलन डाँगी, जिल्ला सचिव विश्व आचार्य लगायतका वक्ताहरुले नेताहरू रातारात धनी बन्न थालेको र उनीहरूको आयस्रोत स्पष्ट हुनुपर्ने आवश्यकता औँल्याए थिए ।
वक्ताहरूले पार्टीभित्र आत्मसमीक्षा र पारदर्शिताको संस्कार विकास नगरे आन्दोलनको आधार कमजोर बन्न सक्ने चेतावनी समेत दिए । मगर राष्ट्रिय मुक्ति मोर्चा दाङका अध्यक्ष उपेन्द्र बुढा मगरको अध्यक्षता र नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समिति सदस्य धनबहादुर मास्कीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण सचिव हर्कराज घर्ती मगरले गर्नु भएको थियो ।