
घोराही, २२ असोज । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक आज सम्पन्न भएको छ । संयन्त्रका संयोजक मनोहर बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले आगामी असोज २६ गते घोराहीमा खबरदारी सभा गर्ने निर्णय गरेको हो । बैठकले हालको राजनीतिक परिस्थितिले देशलाई अराजकता र अस्थिरताकातर्फ धकेल्ने खतरा बढेको भन्दै त्यसविरुद्ध जनचेतना फैलाउने उद्देश्यले खबरदारी सभाको तयारी थालिएको जनाएको छ। संयोजक बुढाथोकीका अनुसार विधिको शासनको रक्षा, संविधानको कार्यान्वयन, राष्ट्रिय हितको संरक्षण र अराजकताविरुद्ध जनसहभागिता जुटाउने अभियान अन्तर्गत यो सभा आयोजना गर्न लागिएको हो ।
बैठकमा विभिन्न जनसंगठनका प्रतिनिधिहरूले क्रमशः आफ्ना धारणा राख्दै हालको सरकारको कार्यशैलीप्रति आपत्ति जनाए। उनीहरूले राज्य सञ्चालनमा देखिएको मनोमानी, स्वेच्छाचारिता र संवैधानिक निकायमाथिको हस्तक्षेप लोकतान्त्रिक मूल्यविपरीत भएको बताएका थिए। वक्ताहरूले एमालेले सधैं राष्ट्रियता, जनजीविका र सुशासनका पक्षमा आवाज उठाउँदै आएको स्मरण गराउँदै आगामी सभालाई जनअधिकार र राष्ट्रिय स्वाभिमानको पक्षमा आवाज बुलन्द गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका थिए।
बैठकले खबरदारी सभालाई सफल बनाउनका लागि दाङका सबै स्थानीय तह, वडा र टोलस्तरमा जनसंगठनहरूलाई सक्रिय बनाउने निर्णय पनि गरेको छ। सभामा सहभागीता बढाउनका लागि प्रचार–प्रसार अभियान सुरु गरिएको र विभिन्न क्षेत्रका प्रतिनिधि, व्यवसायी, विद्यार्थी, महिला र युवा वर्गको उपस्थिति सुनिश्चित गरिने संयन्त्रले जनाएको छ। संयोजक बुढाथोकीले भने, “हामी संविधान र विधिको शासनको संरक्षणका लागि आवाज उठाउँदै आएका छौं । यो सभा त्यसको निरन्तरता हो।”
बैठकमा एमालेका जनसंगठनहरूका जिल्लास्तरीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले राष्ट्रिय हित विपरीत जाने, जनताको अधिकार हनन गर्ने, र शासन व्यवस्थामा अराजकता फैलाउने कुनै पनि शक्ति सह्य नहुने बताएका थिए। संयन्त्रका अनुसार खबरदारी सभामा दाङ जिल्लाका विभिन्न पालिका र गाउँपालिका क्षेत्रबाट हजारौं जनताको सहभागिता रहनेछ।