
काठमाडौं, १७ असोज । भारतको पन्जाब र हरियाणा उच्च अदालतले डाक्टरहरूलाई स्पष्ट र पढ्न सकिने अक्षरमा प्रेस्क्रिप्सन लेख्न आदेश दिएको छ । अदालतले प्रेस्क्रिप्सन पढ्न सकिनु जीवन र मृत्युबीचको अन्तर हुन सक्ने भन्दै यो नागरिकको मौलिक अधिकारसमेत भएको उल्लेख गरेको छ ।
बलात्कारसम्बन्धी एक मुद्दाको सुनुवाइका क्रममा न्यायाधीश जसगुरप्रीत सिंह पुरीले डाक्टरको प्रेस्क्रिप्सन बुझ्न कठिन भएपछि आदेशमा डाक्टरको लेखाइ सुधार गर्नुपर्ने कुरा समावेश गरिएको हो । अदालतले चिकित्सा शिक्षा प्रदान गर्ने विश्वविद्यालयहरूलाई पाठ्यक्रममा हस्तलेखनसम्बन्धी विषय समावेश गर्न र सबै चिकित्सकलाई दुई वर्षभित्र डिजिटल प्रेस्क्रिप्सन प्रणालीमा रूपान्तरण गर्न निर्देशन दिएको छ । सो समयावधिसम्म चिकित्सकले सबै प्रेस्क्रिप्सन क्यापिटल अक्षरमा लेख्नुपर्ने आदेशमा उल्लेख छ ।
तीन लाख ३० हजार सदस्य रहेको इन्डियन मेडिकल एसोसिएसनका अध्यक्ष डा. दिलीप भानुशालीले यो संवेदनशील विषय भएको स्वीकार्दै समाधानका लागि सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।