२०८३ जेष्ठ २७ गते बुधवार

दशैको मुखमा तुलसीपुर काँग्रेसमा ‘तरुण युद्ध’

तुलसीपुर, १५ असोज । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन तरुणदलमा आन्तरिक द्वन्द्व चर्किदा दाङको राजनीतिक तापक्रम अचानक तातिएको छ । दशैँको उत्सवको माहोलमै तरुणदलका जिल्ला अध्यक्ष टिका घर्तीले १३ गते सार्वजनिक गरेको विज्ञप्तिले काङ्ग्रेसभित्रै नयाँ खैलाबैला मच्चाइदिएको छ । भदौ २४ गते दाङमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा संलग्न भएको दाबी गर्दै तरुणदलका तीन जना नेतामाथि कारबाही गरिएको विज्ञप्ति बाहिरिएपछि यसले काङ्ग्रेस भित्रै ठूलो तरङ्ग पैदा गरेको हो ।

कारबाहीमा परेका मध्ये जिल्ला सदस्य विनोद गुरुङ, बबई गाउँपालिका अध्यक्ष गोपिकृष्ण वुढा र तुलसीपुर उपमहानगरपालिका अध्यक्ष कमल घर्ती रहेका छन् । उनीहरू बिपीको सालिक तोडफोडदेखि घोराही, तुलसीपुर र बबईमा भएको तोडफोड र आगजनीमा संलग्न भएको आरोप जिल्ला अध्यक्ष टिका घर्तीले लगाएका छन् ।

समानान्तर तरुणदल, समानान्तर समर्थन 

तुलसीपुरमा अहिले दुईवटा समानान्तर तरुणदल क्रियाशील छन् । एउटा सुरेन्द्र सिंह राठौर नेतृत्वको, जसलाई अध्यक्ष टिका घर्तीले साथ दिएका छन् भने अर्को कमल घर्ती नेतृत्वको तरुणदललाई नगर सभापति सुरेश हमालको प्रत्यक्ष समर्थन छ । यही आ–आफ्नो पक्षधरता र वैधताको विवादले तरुणदल भित्रको कलह सतहमा आएको हो । फेसबुकमा समेत यो जुहारी तातेको छ । नगर सभापति हमालले ‘प्रमाणसहित कारबाही गर्न चुनौति’ दिँदै आधिकारिक अध्यक्ष कमल घर्ती भएको दाबी गरेका छन् भने, अध्यक्ष टिका घर्तीले ‘विधि र विधानले मात्रै बोल्ने’ भन्दै प्रतिकार गरेका छन् ।

दीर्घकालीन असरको चिन्ता

भ्रातृसङ्गठन तरुणदलमा देखिएको यो आन्तरिक कलहले काङ्ग्रेसभित्र दीर्घकालीन असर गर्ने चिन्ता पाका नेताहरूले व्यक्त गरेका छन् । चिया पसलदेखि होटलसम्म तरुणदलको विवाद काङ्ग्रेसको वैधता, नेताको प्रतिष्ठा र टिकट वितरण सम्म जोडिएको विषयका रूपमा प्रवेश पाइसकेको छ । यसरी भ्रातृसङ्गठन कै नाममा सुरु भएको यो आन्तरिक द्वन्द्व अहिले काङ्ग्रेसभित्रै ठूलो राजनीतिक युद्धको रूप लिँदै गएको छ ।

प्रकाशित मिति : २०८२ असोज १५ गते बुधवार
प्रतिक्रिया