२०८२ असोज २६ गते आइतवार

मन्त्रालयमै महावीरको बास, ३ महिनामा नतिजा नल्याउनेको अनुदान चट्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले परीक्षा भएको तीन महिनाभित्र नतिजा ननिकाल्ने शैक्षिक संस्थालाई अनुदान रोक्का गर्न निर्देशन दिएका छन् । मन्त्रीका रूपमा पदबहाली गरेको दोस्रो दिन कर्मचारीबाट रिपोर्टिङ लिएसँगै मन्त्री पुनले तीनबुँदे निर्देशन दिएका हुन् ।

मन्त्रालयमै बास, ३ महिनामा नतिजा नल्याउनेको अनुदान चट्, शयनकक्ष र कार्यकक्ष एउटै तलामा

परीक्षा सकेको आठ महिनादेखि १ वर्षसम्म नतिजा ननिकालेर विद्यार्थीलाई निराश बनाएर राज्यप्रति नै नकारात्मक भाव सिर्जना गराइएको भन्दै जेनजी युवाहरूमा सिर्जना भएको आक्रोशलाई सम्बोधन गर्नेगरी पुनले यस्तो निर्णय लिएका हुन् । ‘राष्ट्रिय परीक्षा बोर्डले ५ लाख विद्यार्थीको तीन महिनामा नतिजा निकाल्नसक्ने अरूले नसक्ने भन्ने हुँदैन तीन महिनामा नतिजा ननिकाल्नेको अनुदान रोक्का हुन्छ,’ मन्त्री पुनले भने । मन्त्री पुनले सम्पूर्ण सामुदायिक विद्यालयलाई एक जना कम्प्युटर शिक्षकको दरबन्दी सुनिश्चित गर्न पनि मातहत निकाय तथा कर्मचारीलाई निर्देशन दिएका छन् । त्रिभुवन विश्वविद्यालयलाई आकर्षक बनाउन झाडी फँडानी तथा ब्युटिफिकेसन गर्न पनि निर्देशन दिएका हुन् ।

एउटै तलामा कार्यकक्ष र शयनकक्ष
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन मंगलबारबाट मन्त्रालयमै बस्ने भएका छन् । सोमबार शपथ ग्रहणसँगै पदभार सम्हाल्न मन्त्रालय पुगेका पुनले मंगलबारबाट आफूलाई मन्त्रालयमै बसोबास व्यवस्था गर्न निर्देशन दिएअनुसार बसोबास तयारी गरिएको हो । मन्त्री पुनको शयनकक्ष र कार्यकक्ष एउटै तलामा हुने भएको छ ।

मन्त्रीहरूको आवास व्यवस्थापनको काम गर्दै आएको सहरी विकास मन्त्रालयले एकै दिनमा ठाउँको व्यवस्थापन गर्नेदेखि सुत्ने तथा खानपानको व्यवस्थापनका सम्पूर्ण कामको तयारी गरेको हो । कर्मचारीले दिनैभर सामान व्यवस्थापन गरेर साँझसम्ममा केशरमहलस्थित मन्त्रालय भवनमा कार्यकक्ष रहेकै तलामा आवास व्यवस्थापन गरिदिएका हुन् ।

प्रकाशित मिति : २०८२ असोज ८ गते बुधवार
प्रतिक्रिया