२०८२ असोज २६ गते आइतवार

गाउँगाउँमा संसदीय अभ्यास सिकाउँदै मेट्रोका विद्यार्थी

तुलसीपुर । यतिबेला सबैतिर कलेजमा दशैतिहारको विदा छ । विद्यार्थीहरु खुसीपूर्व पर्व मनाउनका लागि गाँउघरमा पुग्न आतुर छन् । तर तुलसीपुर मेट्रो कलेजमा बिएएलएलबी अध्ययनरत विद्यार्थीहरु भने यतिबेला गाउँगाउँमा पुगेर युवाहरुलाई संसदीय अभ्यासका बारेमा सिकाउँदै हिडेका छन् । अभियानको पहिलो चरण अन्तर्गत सल्यानका १ सय २० युवाहरुलाई नमुना युवा संसद मार्फत संसदीय अभ्यास गराइएको विद्यार्थी दुर्विन ओलीले बताए । उनले युवा जागरण माध्यमिक विद्यालय झुल्नेटामा अध्ययरत विद्यार्थीहरुलाई ३ दिनसम्म तालिम प्रदान गरेर नमुना संसदीय अभ्यास कार्यक्रम सम्पन्न गरिएको बताए ।

त्रिवेणी गाउँपालिकाको सभाहलमा नमुना युवा संसदीय अभ्यास समेत गराइएको विद्यार्थी इन्द्र खत्रीले जानकारी दिए । उनले नेपालको संसदीय अभ्यासमा हुने कुराहरुलाई नमुनाका रुपमा प्रस्तुत गरिएको पनि जानकारी दिए । नमुना युवा संसदमा नमुना शिक्षा विधेयक बनाएर छलफल गरिएको विद्यार्थी हसिना बुढामगरले बताइन् । उनले विधेयक कसरी प्रस्तुत गर्ने र त्यसका कसरी आफ्ना विचारहरु राख्ने भन्ने बारेमा छलफल भएको पनि बताइन् ।
कार्यक्रममा नमुना युवा संसदको अभ्यास गरेका विद्यार्थीहरुले संसदीय अभ्यासका बारेमा जानकारी पाउँदा खुसी लागेको बताए । उनीहरुले यस्तो अभ्यासले देशको बारेमा बुझ्न सहज हुने बताए । कार्यक्रम त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले विद्यार्थीहरुलाई नमुना संसदीय अभ्यासका बारेमा जानकारी गराएकोमा खुसी व्यक्त गरेर । कार्यक्रममा मुख्य प्रशिक्षकमा विद्यार्थीहरु दुर्विन ओली,दिपा बुढाथोकी, दामोदर खड्का, हसिना बुढा मगर, इन्द्र बहादुर खत्री, सविना राना, पारस ओली र आकाश ओली रहेका थिए । कार्यक्रमको अध्यक्षता वडाध्यक्ष दिपेन्द्र कुमार वलीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ असोज ७ गते मङ्गलवार
प्रतिक्रिया